१६ कार्तिक २०८३, आईतवार

 

नाग्लीवाङ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा सूर्यबहादुर महत, नवनिर्वाचित समितिलाई पदस्थापन

पर्वत । नाग्लीवाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीले शपथ ग्रहण गरेका छन् ।

जलजला गाउँपालिका–८, खनियाघाट पर्वतमा रहेको नाग्लीवाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको गत असोज २६ गते सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट सर्वसम्मत निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यले बिहीबार शपथ ग्रहण गरेका हुन् ।

निर्वाचन मण्डलका संयोजक हरेमबहादुर खत्री र निर्वाचन समितिका सदस्य मोहन जिसीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराएका थिए।

नवनिर्वाचित समितिमा सूर्यबहादुर महत अध्यक्ष, रत्नबहादुर केसी उपाध्यक्ष, विष्णु जिसी सचिव र गोकुलप्रसाद कँडेल कोषाध्यक्ष चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्षसहित सञ्चालक समिति तथा लेखा समितिका सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा निर्वाचन मण्डलका संयोजक हरेमबहादुर खत्रीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाकी प्रबन्धक रञ्जिता विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung