बागलुङ । उच्च अदालत पोखरा, बागलुङ इजलासले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई विधानअनुसार यथाशीघ्र साधारणसभा गर्न परमादेश जारी गरेको छ ।
अदालतले संस्थालाई विधानबमोजिम वार्षिक साधारणसभा गर्न र सबै उपभोक्तासम्म नियमअनुसार सूचना पुर्याउन आदेश दिएको हो ।
यसअघि २०८३ असार १५ देखि १८ गतेसम्म साधारणसभा गर्ने भनिए पनि उक्त प्रक्रियाको औचित्य नरहेको ठहर गर्दै अदालतले नयाँ मिति तय गरी नियमित साधारणसभा सम्पन्न गर्न भनेको छ ।
साधारणसभा र अधिवेशन गराउनु संस्थाको बाध्यता मात्र नभई कानुनी कर्तव्यसमेत भएको अदालतको आदेशमा उल्लेख छ । साधारणसभा जवाफदेहीपूर्ण हुनुपर्ने, उपभोक्ताको हितलाई प्राथमिकता दिनुपर्ने तथा संस्थाको आर्थिक पारदर्शिता, वार्षिक कार्यप्रगति र प्रतिवेदनलाई व्यवस्थित बनाउनुपर्ने अदालतले जनाएको छ ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका निर्वाचित सदस्य कुलराज शर्मा (हिमाल), हुमा खड्का र कालिका सापकोटाले संस्था र बागलुङ नगरपालिकाको नगर कार्यपालिकालाई विपक्षी बनाई उत्प्रेषणयुक्त परमादेशको माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।
उक्त निवेदनमा अन्तिम आदेश जारी गर्दै अदालतले निर्वाचित सदस्यलाई समयमै सूचना दिएर बैठक बस्नसमेत सुझाएको छ । साथै, २०७९ सालदेखि साधारणसभा हुन नसकेको अवस्थामा निवेदकसहित संस्थाका सबै सदस्यको साधारणसभा सम्पन्न गराउने दायित्व रहेको अदालतले स्मरण गराएको छ ।
मुद्दामा निवेदकका तर्फबाट अधिवक्ता तिलकबहादुर रिजाल, संस्थाका तर्फबाट वरिष्ठ अधिवक्ता भूमिश्वर गौतम तथा अधिवक्ताहरू राम शर्मा र प्रकाश बराल र नगरपालिकाका तर्फबाट अधिवक्ता ज्ञानेन्द्रराज पन्तले बहस गरेका थिए ।



















































































































































































































