१४ कार्तिक २०८३, शुक्रबार

 

पोखरामा पोलियो उन्मूलन सचेतना र्‍याली सम्पन्न

पोखरा । विश्व पोलियो दिवसको अवसरमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, रिजन–४ को आयोजनामा पोखरामा पोलियो उन्मूलन सचेतना र्‍याली सम्पन्न भएको छ ।

रिजन–४ अन्तर्गत पोखरामा क्रियाशील सम्पूर्ण रोटरी क्लबहरूको समन्वय तथा सहभागितामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार र्‍याली आयोजना गरिएको हो ।

रिजन–४ पोलियो प्लस उपसमितिका चियर रोटेरियन नारायणप्रसाद शर्माको संयोजनमा आयोजित कार्यक्रममा डिस्ट्रिक्टका पदाधिकारी, विभिन्न रोटरी क्लबका अध्यक्ष तथा सदस्य, रोट्र्याक्टर, इन्टर्याक्टर र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष नवीनराज बरालले सञ्चालन गर्नुभएको थियो भने रिजनल सेक्रेटरी राजेन्द्र लिगलले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि रोटेरियन विनोद कोइरालाले पोलियो रोग, यसको जोखिम तथा रोकथामका उपायबारे जानकारी गराउँदै पोलियो उन्मूलनका लागि जनचेतना फैलाउन र प्रत्येक बालबालिकाले आवश्यक खोप पाउने वातावरण बनाउन सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

पोखरा सभागृहबाट सुरु भएको र्‍याली पृथ्वीचोक हुँदै मुस्ताङचोक पुगेर समापन भएको थियो । र्‍यालीमा सहभागीहरूले पोलियो उन्मूलनसम्बन्धी विभिन्न सन्देश र नारामार्फत समुदायमा जनचेतना फैलाएका थिए ।

समापन कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष राजकुमार गुरुङले र्‍यालीमा सहभागी रोटेरियन, रोट्र्याक्टर, इन्टर्याक्टर, डिस्ट्रिक्ट पदाधिकारी तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक नारायणप्रसाद शर्माले सबै सहभागी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung