१४ कार्तिक २०८३, शुक्रबार

 

चक्रवातको प्रभावले गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन प्रशासनको आग्रह

बागलुङ । बंगालको खाडीमा विकसित चक्रवातको प्रभावले गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

नेपाल मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार २०८३ कात्तिक १२ देखि १४ गतेसम्म चक्रवातको प्रभाव रहनेछ । कात्तिक १३ र १४ गते शुक्रबार तथा शनिबार गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

सम्भावित वर्षा र त्यसबाट हुन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लावासीलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रशासनले वर्षाको समयमा अन्नबाली नकाट्न, घरबाट बाहिर लामो यात्रामा ननिस्कन तथा पदयात्रामा गएका व्यक्तिलाई सम्भव भएसम्म छिटो सुरक्षित स्थानमा फर्कने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गङ्गालाल सुवेदीद्वारा जारी सूचनामा सम्भावित बाढी, पहिरो तथा अन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाउन जिल्लाका सबै स्थानीय तह, सङ्घसंस्था तथा सर्वसाधारणलाई आग्रह गरिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung