२९ आश्विन २०८३, बिहीबार

 

धौलागिरि अस्पतालद्वारा पूर्वअध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित

बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङले अस्पताल व्यवस्थापन समितिका छ जना पूर्वअध्यक्ष तथा दुई स्वास्थ्यकर्मी र एक कर्मचारीलाई सम्मान तथा विदाई गरेको छ ।

विहिबार विजयादशमी, नेपाल संवत्, दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अस्पतालको विकास र व्यवस्थापनमा योगदान पुर्‍याएका पूर्वअध्यक्षहरूलाई सम्मान तथा अवकाश प्राप्त स्वास्थ्यकर्मी र कर्मचारीलाई विदाई गरिएको हो ।

अस्पतालका पूर्वअध्यक्षहरू डा. कृष्णबहादुर श्रेष्ठ, देवबहादुर श्रेष्ठ, सहदेव राजभण्डारी, टीकाराम सापकोटा, रामजी प्रसाद सुवेदी, केबी रानामगर, नारायणप्रसाद पौडेल र अमर थापालाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

त्यस्तै, अस्पतालबाट अवकाश प्राप्त वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक देवी भट्टराई, वरिष्ठ रेडियोग्राफर निरीक्षक खड्गवीर थापा र सहायक प्रशासकीय अधिकृत तारानाथ शर्मालाई कदरपत्र प्रदान गर्दै दोसल्ला ओढाएर विदाई गरिएको थियो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा र मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले अस्पतालको वर्तमान अवस्था, भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवामा भएका सुधार र सेवाग्राहीको आवश्यकताअनुसार आगामी दिनमा गरिने कामबारे जानकारी गराउनुभएको थियो ।

उहाँहरूले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, बिरामीको बढ्दो चाप, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सीमित संख्या र सेवा प्रवाहमा देखिएका चुनौतीबारे चर्चा गर्नुभएको थियो । सीमित स्रोतसाधनका बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले कठिन परिस्थितिमा समेत मेहनत र जोखिम मोलेर सेवा प्रदान गरिरहेको उहाँहरूको भनाइ थियो ।

हाल  अस्पतालमा २२ जना विशेषज्ञ तथा कन्सल्टेन्ट चिकित्सक, १४ जना मेडिकल अफिसरलगायत कुल २३४ जना कर्मचारी कार्यरत छन्। सीमित जनशक्ति र बिरामीको बढ्दो चापका बीच अस्पतालले सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शर्मा र मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीको स्वागत मन्तव्य तथा मेडिकल रेकर्डर नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०१५ सालमा डिस्पेन्सरीका रूपमा स्थापना भएको धौलागिरि प्रादेशिक अस्पताल विभिन्न चरण पार गर्दै स्वास्थ्य सेवा विस्तार गर्न सफल भएको हो ।

विसं २०३३ सालमा जिल्ला अस्पतालका रूपमा सेवा सञ्चालन गरेको यस अस्पताललाई विसं २०६७ सालमा अञ्चल अस्पतालका रूपमा स्तरोन्नति गरी विशेषज्ञ स्वास्थ्य सेवा सुरु गरिएको थियो । हाल यो अस्पताल गण्डकी प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको छ ।

तस्बिर अध्यक्ष श्रीप्रसाद शर्मा, उपमेयर राजु खड्का र पत्रकार उषा पौडेलको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung