बागलुङ । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकार राम थापालाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिने भएको छ ।
युआरएल फाउन्डेसनले स्थापना तथा सञ्चालन गरेको उक्त पुरस्कार नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्षसमेत रहनुभएका थापालाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि नगद ३३ हजार ३३३ रुपैयाँ र ताम्रपत्र रहेको छ ।
बागलुङको गलकोट नगरपालिका–७, मल्म स्थायी निवासी थापा हाल राष्ट्रिय समाचार समितिको पोखरा कार्यालयमा कार्यरत हुनुहुन्छ । दुई दशकअघि बागलुङ एफएमबाट पत्रकारिता सुरु गर्नुभएका थापाले बागलुङ हुँदै पोखरा पुगेर पत्रकारितालाई निरन्तरता दिँदै आउनुभएको छ ।
पत्रकारितामा सक्रिय रहँदै स्वास्थ्य क्षेत्रका गतिविधि, समस्या र चुनौतीलाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएकाले थापालाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिभा छनोट समितिका संयोजक केशवशरण लामिछानेले बताउनुभयो ।
पुरस्कार छनोट समितिमा पत्रकारद्वय फडिन्द्र अकिञ्चन र ऋषि खतिवडा तथा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला सदस्य रहनुभएको थियो ।
पोखराको न्युरोडमा १३ वर्षअघि स्थापना भएको गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले युआरएल फाउन्डेसनलाई प्रवर्द्धन गरेको हो ।
फाउन्डेसनले प्रदान गर्दै आएको उक्त पुरस्कारबाट यसअघि जमुना वर्षा शर्मा, दीपेन्द्र श्रेष्ठ, आरजू विष्ट ‘सल्यानी’, हरि बास्तोला, प्रदीप पौडेल, सुरेन्द्र पौडेल, यदुनाथ बञ्जारा र ऋषि खतिवडा सम्मानित भइसक्नुभएको छ ।
फाउन्डेसनले प्रदान गर्दै आएको लाइफ टाइम एचिभमेन्ट अवार्ड भने यस वर्ष स्थगन गरिएको छ । युआरएलका अध्यक्ष पन्थका अनुसार आगामी मंसिर २३ गते आयोजना हुने युआरएलको वार्षिकोत्सव समारोहमा थापालाई पुरस्कार प्रदान गरिनेछ ।



















































































































































































































