६ मंसिर २०८३, आईतवार

 

जैमिनीलाई हराउँदै गलकोटले जित्यो हरिबोधनी एकादशी मेलाको भलिबल उपाधि

बागलुङ । हरिबोधनी एकादशी मेला–२०८३ को अवसरमा आयोजित खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोटले जितेको छ ।

गलकोट नगरपालिकाको नरेठाँटी भलिबल टोलीले आइतबार सम्पन्न फाइनल खेलमा जैमिनी नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो सेट गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेर उपाधि आफ्नो पक्षमा पारेको हो । अनुभवी र युवा खेलाडीको सम्मिश्रण रहेको गलकोटले जितसँगै भलिबलमा आफ्नो दबदबा कायम राख्न सफल भयो ।

पहिलो सेट जैमिनीले २६–२४ ले जितेको थियो । दोस्रो सेटमा गलकोटले २५–१९ को जित निकाल्दै खेल बराबरीमा ल्यायो । तेस्रो सेटमा जैमिनी २४–२१ को अग्रतासहित सेट पोइन्टमा पुगे पनि गलकोटले उत्कृष्ट पुनरागमन गर्दै २९–२७ ले सेट आफ्नो पक्षमा पार्‍यो । चौथो सेटमा २५–२१ को जित निकाल्दै गलकोटले उपाधि सुनिश्चित गर्‍यो ।

गण्डकी प्रदेश भलिबल टोलीका नियमित सदस्य इन्द्र विक तथा अनुभवी खेलाडी प्रकाश सुनार र कुस्मन थापामगरसहितको गलकोट टोली युवा खेलाडीले भरिएको जैमिनीमाथि भारी परेको थियो । जैमिनीका शंकर सुनार, शिव रसाइली र विधान रोकालगायतका युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि उपाधि जित्न सकेनन् ।

उपाधिसँगै नरेठाँटी भलिबल गलकोटले नगद एक लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जैमिनी नगरपालिकाले एक लाख रुपैयाँ, तेस्रो भएको कुश्मा नगरपालिकाले ५० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गरेको बागलुङ नगरपालिकाले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताभर अनुशासित र उत्कृष्ट खेल प्रदर्शन गरेका गलकोटका कुस्मन थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यस्तै, जैमिनीका विधान रोका उत्कृष्ट स्पाइकर, गलकोटका पाण्डप पुन उत्कृष्ट सेटर, जैमिनीका शंकर विश्वकर्मा उत्कृष्ट मिडिल ब्लकर, गलकोटका मनिष श्रीसमगर उत्कृष्ट डिफेन्डर र प्रकाश सुनार उत्कृष्ट सर्भर घोषित भए ।

गलकोटका बमबहादुर खत्री उत्कृष्ट प्रशिक्षक तथा जैमिनीका शिव रसाइली उदयमान खेलाडी घोषित भए । विधागत रूपमा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही दुई हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको रेफ्री संयोजक किशोर थापाले जानकारी दिए ।

विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीलाई ९५ वर्षीय ज्येष्ठ नागरिक कृष्णलाल शाक्य तथा मेला व्यवस्थापन समितिका पदाधिकारीले पुरस्कार वितरण गरेका थिए ।

निरयघाट मानवसेवा धाम विकास समिति बागलुङ र हरिबोधनी एकादशी मेला व्यवस्थापन समितिको संयुक्त आयोजनामा सञ्चालित मेला तीन दिनका लागि तय गरिएको भए पनि भलिबल प्रतियोगिता सम्पन्न हुन नसकेपछि चौथो दिन समापन गरिएको हो ।

विगत २५ वर्षदेखि अवरुद्ध रहेको हरिबोधनी एकादशी मेलालाई यस वर्षदेखि औपचारिक रूपमा पुनः सञ्चालन गरिएको मेला व्यवस्थापन समितिका संयोजक राजु खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung