५ मंसिर २०८३, शनिबार

 

बागलुङमा ८९५ मिटर लामो धर्मपथ पैदलमार्ग उद्घाटन

बागलुङ । बागलुङ नगरपालिका–४ कुडुलेमा निर्माण गरिएको धर्मपथ पैदलमार्ग उद्घाटन गरिएको छ।

कुडुलेको द्वारेगौडादेखि ढोडेनीसम्म निर्माण गरिएको ८ सय ९५ मिटर लामो पैदलमार्गको हरिबोधनी एकादशीको अवसर पारेर नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो।

करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पैदलमार्गमा चारवटा विश्रामस्थल, तीनवटा पानी ट्याङ्की र भगवान् शिवको मूर्तिसहितका संरचना निर्माण गरिएको छ।

पैदलमार्ग निर्माणका लागि नगरपालिकाले ३ लाख, एकीकृत विकास कार्यालय बागलुङले ५ लाख रुपैयाँ सहयोग गरेका थिए भने बाँकी रकम स्थानीयवासी र सहयोगदाताबाट जुटाइएको निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।

पैदलमार्ग निर्माणसँगै कुडुलेसहित सीमा, लमगाउँ, ठूलास्वाँरा र रमेटारका स्थानीयलाई आवतजावत, खेतीपाती तथा कृष्णगण्डकी नदी किनारमा शवदाहका लागि जान सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच, निर्माण अभियानमा सहयोग गर्ने दुई सयभन्दा बढी व्यक्तिलाई सम्मानसमेत गरिएको छ।

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नारासहित स्थानीयवासीको सक्रियतामा निर्माण गरिएको यस पैदलमार्गले धार्मिक, सामाजिक तथा दैनिक जनजीवनमा सहजता थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung