काठमाडौं । प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंको बालाजुस्थित बालाजी बैंक्वेटमा सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष श्याम श्रेष्ठले आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको कार्ययोजना तथा बजेट प्रस्तुत गरेका थिए । त्यस्तै, लेखा समितिका सदस्य गंगा सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सभामा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम तथा लेखा समितिको प्रतिवेदनमाथि छलफल गरी उपस्थित सेयर सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका छन् ।
कार्यक्रममा सल्लाहकार तथा सहकारी विज्ञ रामप्रसाद आचार्य, संस्थाका निवर्तमान अध्यक्ष हरिकृष्ण शर्मा तथा सेयर सदस्य डा स्वयं प्रकाश श्रेष्ठले विभिन्न प्रतिकूल परिस्थितिका बाबजुद संस्थाले प्रगति गर्न सफल भएको बताएका थिए ।
उनीहरूले संस्थाको विकास, स्थायित्व र सफलतामा सेयर सदस्यहरूको विश्वास, साथ र सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारीको मूल मर्मअनुसार सदस्यकेन्द्रित सेवा र संस्थागत सुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
२०६७ साल पुस २ गते स्थापना भएको प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्थाको हाल कुल निक्षेप २१ करोड रुपैयाँ, सेयर पुँजी २ करोड ५३ लाख ८३ हजार रुपैयाँ र कर्जा लगानी १९ करोड रुपैयाँ रहेको संस्थाका प्रबन्धक किस्मत जङ्ग राजभण्डारीले जानकारी दिए । यस वर्षको नाफाबाट लाभांश वितरण गर्ने राजभण्डारीले बताउनुभयो ।
उनका अनुसार संस्थामा हाल ५ सय ६२ जना सेयर सदस्य आबद्ध छन् ।
साधारणसभाले सहकारीको आर्थिक अवस्था सुदृढ बनाउँदै सदस्यहरूको बचत सुरक्षा, उत्पादनशील क्षेत्रमा कर्जा लगानी तथा सदस्यहरूको आर्थिक र सामाजिक जीवनस्तर सुधारमा थप ध्यान दिनुपर्नेमा जोड दिएको छ ।
कार्यक्रम प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष शैव्या प्रधानको स्वागत र सचिव विष्णु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।






















































































































































































































