बागलुङ । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ साधारणसभा शनिबार ज्ञानोदय बुद्ध विहारको सभाकक्षमा सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका सचिव भीमसेन शाक्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रघुराम भारीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक अधिवक्ता गोविन्दप्रसाद वझाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले प्रस्तुत तीनवटै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि मोहनमाया केसी श्रेष्ठ, सहकारीका पूर्वअध्यक्ष ईश्वर मलेपती, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी र शंखधर बहुमुखी सहकारीका अध्यक्ष युक्तजंग राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा ज्येष्ठ सेयर सदस्यतर्फ सुषमा देवी श्रेष्ठ, राजकुमारी श्रेष्ठ र मोहनमाया केसी श्रेष्ठ सम्मानित भएका छन् । त्यस्तै, उत्कृष्ट बचतकर्ताका रूपमा विनय शाक्य, उत्कृष्ट कर्मचारीतर्फ प्रबन्धक उत्तमप्रसाद श्रेष्ठ र बजार प्रतिनिधि धनमाया पुन मगरलाई सम्मान गरिएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष दुर्वलकाजी राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष दीपक ज्योति श्रेष्ठको स्वागत र सचिव भीमसेन शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०६४ साल कात्तिक २७ गते ईश्वर बज्राचार्यको नेतृत्वमा स्थापना भएको सहकारीमा हाल १४९ जना सेयर सदस्य रहेका छन् । सहकारीको सेयर पुँजी १ करोड ३५ लाख ९८ हजार ५०० रुपैयाँ रहेको छ ।
बागलुङ नगरपालिका–३ लालिगुराँस चोकमा कार्यालय रहेको सहकारीले चार जना युवालाई रोजगारीसमेत प्रदान गरेको छ ।





















































































































































































































