बागलुङ। बागलुङको ताराखोला गाउँपालिका–२ स्थित अर्गली मगर समुदायले भूष पोल्ने पर्व भव्य रुपमा मनाएका छन् ।
पुर्खाको सम्झना, प्रकृति पूजा र हिउँदे खेतीको सुरुआतसँग जोडिएको यो पर्वमा समुदायका सदस्य सामूहिक रूपमा सहभागी भएका छन् ।
पाल्पाको अर्गलीबाट करिब १५औँ शताब्दीमा बसाइँ सरेर आएका मगर समुदायले आफ्नो इतिहास र परम्परा सम्झँदै हरेक वर्ष कात्तिकमा यो पर्व मनाउने गरेका छन् ।
पर्वका क्रममा वर्षभरि मृत्यु भएका आफन्तको सामूहिक पितृकार्य गर्ने, खोरिया फाँडेको इतिहास सम्झन भुस पोल्ने र सार्वजनिक शंकुबारीमा छापो हालेर हिउँदे खेती सुरु गर्ने परम्परा छ ।
यस वर्ष कात्तिक २४ गते देखि २७ गते सम्म भुस पोल्ने पर्व मनाइएको छ । समुदायले ‘होलादास’ अर्थात् सामूहिक पितृकार्य सम्पन्न गरेको थियो ।
वर्षभरि मृत्यु भएका आफन्तको एकै दिन पितृकार्य गरेर आशौच फुकाउने चलनलाई होलादास भनिन्छ । त्यसको भोलिपल्ट कात्तिक २५ गते भुस पोलिएको थियो भने कात्तिक २६ गते शंकुबारीमा छापो हालिएको थियो ।
वर्षे बालीका रूपमा लगाइएका मकै लगायतका खेती भित्राएपछि खेतबारीमा रहेका स्याउला र झारपात जलाएर किरा मार्ने तथा नयाँ खेतीका लागि जमिन तयार गर्ने उद्देश्यले भुस पोल्ने गरिएको ताराखोला गाउँपालिकाका पूर्व अध्यक्ष प्रकाश घर्तीमगरले बताउनुभयो ।
पाल्पाबाट बसाइँ सरेर आएपछि खोरिया फाँडेर बस्ती बसाएको इतिहाससँग पनि जोडिएको छ । पर्वको महत्वपूर्ण पक्ष शंकुबारीमा छापो हाल्ने परम्परा हो ।
समुदायको सामूहिक हक रहेको सार्वजनिक शंकुबारीमा बुढापाकाले जौको बीउ छरेपछि अविवाहित युवायुवतीले सामूहिक रूपमा जमिन खनेर छापो हाल्ने गर्छन् । यसरी हिउँदे खेतीको सुरुआत गरिन्छ । यहाँ गहुँ, जौ, तोरीलगायतका बाली लगाउने गरिन्छ ।
यो परम्परामा सहभागी हुन देशविदेशमा रहेका अविवाहित युवायुवतीसमेत गाउँ फर्कने गरेका छन् । यस वर्ष ६० जनाभन्दा बढी अविवाहित युवायुवती शंकुबारीमा छापो हाल्न सहभागी भएको स्थानीय भद्रबहादुर घर्तीले बताउनुभयो ।
विवाह गर्ने उमेर पुगेका युवायुवती यो पर्वमा अनिवार्य सहभागी हुनुपर्ने मान्यता रहेको उहाँको भनाइ छ । पर्वमा सहभागी नभएकाले एक वर्षभित्र विवाह गर्न नपाउने परम्परागत मान्यता रहेको स्थानीयवासी बताउँछन् ।
शंकुबारीमा छापो हाल्दा राम्रो वरवधु पाइने विश्वाससमेत समुदायमा छ । यसले वैवाहिक उमेरका युवायुवतीलाई आफ्नो मौलिक संस्कृति र गाउँसँग जोड्ने काम गरेको छ ।
पितृको सम्झना, पुर्खाको इतिहास, प्रकृतिको पूजा र कृषि संस्कृतिलाई एकैसाथ जोडेको यो भुस पोल्ने पर्व अर्गली मगर समुदायको मौलिक पहिचान बनेको छ ।
आधुनिक जीवनशैली र बसाइँसराइका कारण परम्परागत संस्कृति हराउँदै गएका बेला देशविदेशबाट युवायुवती गाउँ फर्केर सामूहिक रूपमा पर्व मनाउनुले यसको पुस्तान्तरणमा समेत सहयोग पुगेको छ ।



















































































































































































































