२६ कार्तिक २०८३, बिहीबार

 

पर्यटकीय याम : सामुदायिक घरबासमा विदेशी पाहुना

बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्गानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डे स्थित सामुदायिक घरबासको मुख्य आकर्षण हुन् ।

यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासमा स्वदेशी मात्र नभई विदेशी पर्यटकसमेत आकर्षित हुन थालेका छन् ।

पर्यटकीय याम सुरु भएसँगै जिल्लाकै पहिलो घरबास गाउँ बागलुङ नगरपावलिका–१० स्थित भकुण्डेमा पर्यटकको चहलपहल बढेको छ ।

हालै छ विदेशी पर्यटक तीन दिनसम्म घरबासमा बसेर गाउँको प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति र खानपानमा रमाउँदै फर्किएका छन् ।

बेलायत, स्विजरल्यान्ड, अस्ट्रेलिया र अमेरिकालगायत देशका पर्यटक घरबासमा आएको सञ्चालक याम थापाले बताउनुभयो ।

“शुक्रबारदेखि आइतबारसम्म घरबासमा पर्यटकको चहलपहल बढी हुन्छ । पदयात्रामार्फत बागलुङ बजारबाट र जीपमा भकुण्डे पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “भकुण्डे यस्तो घरबास हो, जहाँ विदेशी पर्यटक सोझै आउने गरेका छन् ।

यसले ओझेलमा परेको गाउँलाई चलायमान बनाउनुका साथै बसाइँसराइ रोक्नसमेत सहयोग गरेको छ ।”

विसं २०७३ देखि जिल्लाकै पहिलो घरबासका रूपमा सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरबास स्थानीय कला, संस्कृति, मौलिक परम्परा, आतिथ्य र अर्गानिक खानाका कारण परिचित बन्दै गएको छ ।

पछिल्ला छ वर्षदेखि विदेशी पर्यटकको आगमनले निरन्तरता पाएको सञ्चालकको भनाइ छ ।

बाजागाजासहित पाहुनाको स्वागत

विदेशी पर्यटकको आकर्षण बढ्न थालेपछि घरबासमा नौमती बाजागाजासहित पाहुनाको स्वागत गर्ने गरिएको सञ्चालक थापाले बताउनुभयो ।

मौसमी फूल, सयपत्री र लालीगुराँसका माला लगाएर पाहुनालाई स्वागत गर्ने परम्परा छ ।

स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीसँग नजिकबाट परिचित हुन पाइने भएकाले विदेशी पर्यटकको रोजाइमा सामुदायिक घरबास परेको उहाँको भनाइ छ ।

विदेशी पर्यटकलाई भकुण्डे चिनाउने शर्मा

बागलुङको पर्यटन प्रवर्द्धनमा लामो समयदेखि सक्रिय महादेव शर्मा विदेशी पर्यटकलाई भकुण्डे ल्याउन सक्रिय हुनुहुन्छ । विभिन्न माध्यमबाट विदेशी पाहुना भित्र्याउँदै आउनुभएका शर्माले घरबासको पूर्वअध्ययनसमेत गर्दै आउनुभएको छ ।

भकुण्डेको गाउँ परिवेश, जीवनशैली, खानपान र स्थानीयको आतिथ्य विदेशी पर्यटकले रुचाउने गरेको उहाँले बताउनुभयो । शर्माका अनुसार उहाँको पहलमा दर्जनभन्दा बढी समूहमा विदेशी पर्यटक भकुण्डे पुगेका छन् ।

घरबास सञ्चालिका इन्द्रा थापाले पाहुनाको मागअनुसार सेवा तथा सुविधा थप्दै लगिएको बताउनुभयो । पर्यटकलाई सहज बसाइका लागि तातो तथा चिसो पानी, शौचालयलगायतका पूर्वाधारलाई व्यवस्थित बनाइएको उहाँको भनाइ छ ।

सिन्कीदेखि कोदोको सेलको स्वाद

घरबासको अर्को मुख्य आकर्षण स्थानीय अर्गानिक खानाका परिकार हुन् । हिमशृङ्खलाको दृश्यावलोकन गर्दै स्थानीय उत्पादनबाट तयार पारिएका परिकारको स्वाद लिन पाइने भएकाले पर्यटक रमाउने गरेका छन् ।

यहाँ स्थानीय आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, कोदोको सेलरोटी, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुका परिकार खुवाउने गरिएको सञ्चालिका इन्द्रा थापाले बताउनुभयो ।

१५ घरमा सञ्चालन भइरहेको घरबासमा एक रातमा करिब एक सय पर्यटक राख्न सक्ने क्षमता रहेको छ ।

मगर संस्कृति, स्थानीय खानाका परिकार, न्यानो आतिथ्य, पर्यटकीय उद्यान, भ्यूटावर, बराह ताल र प्राकृतिक सुन्दरताले भकुण्डे पर्यटकको आकर्षणको केन्द्र बनेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो ।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट नजिकै रहेको भकुण्डे भौगोलिक रूपमा समेत रमणीय छ । यहाँबाट आँखैअगाडि देखिने हिमशृङ्खला, मगर संस्कृति र सुविधायुक्त बसाइले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

घरबासमा पाहुनाको स्वागत तथा बिदाइ गर्ने शैली पनि फरक र आत्मीय रहेको यहाँ पुग्नुभएका स्वदेशी पर्यटक रमण छन्त्यालले बताउनुभयो ।

यहाँ अमेरिकासँगै दक्षिण कोरिया, चीन, जर्मनी र क्यानडालगायत देशबाट पर्यटक आउने गरेका छन् । कतिपय पर्यटक हेलिकप्टरमार्फत समेत भकुण्डे पुग्ने गरेका छन् ।

घरबासमा आउने विदेशी पर्यटक स्थानीय परिकारको स्वाद लिने, पर्यटकीयस्थल घुम्ने, कला संस्कृतिमा रमाउने तथा स्थानीयसँग नाचगान गरेर समय बिताउने गर्छन् । अधिकांश पर्यटक बागलुङ बजारबाट पदयात्रा गर्दै भकुण्डे पुग्ने गरेका छन् ।

भकुण्डे पुग्ने सडक स्तरोन्नति, खानेपानीको पर्याप्त व्यवस्था र पर्यटकीय पूर्वाधार विस्तारमा ध्यान दिन सके यस क्षेत्रको पर्यटन थप विस्तार हुने स्थानीयको अपेक्षा छ । घरबासको झ्यालबाटै धौलिगिरि, अन्नपूर्ण, माछापुच्छ्रे जस्ता हिमालहरु देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung