२४ कार्तिक २०८३, मंगलवार

 

देउसीभैलोको मौलिकता हराउँदै, आधुनिक शैलीमा रमाउँदै नयाँ पुस्ता

बागलुङ । तिहार भन्नासाथ मादल र खैँजडीको तालमा गुञ्जिने देउसीभैलो, मौलिक लोकभाका र सामूहिक नाचगानको सम्झना आउँछ ।

घरघरमा पुगेर देउसीभैलो खेल्ने, आशिष दिने र दक्षिणा संकलन गर्ने परम्पराले तिहारलाई थप उल्लासमय बनाउँथ्यो ।

तर, समयसँगै देउसीभैलोको मौलिक स्वरूप फेरिँदै गएको छ । परम्परागत बाजा र लोकभाकाको स्थान आधुनिक गीत र साउण्ड सिस्टमले लिन थालेपछि मौलिक संस्कृति ओझेलमा पर्दै गएको छ ।

तिहार सुरु भएसँगै बागलुङ बजारका चोक र बस्तीमा देउसीभैलोको चहलपहल बढेको छ । यस वर्ष शनिबारदेखि नै सुरु भएको देउसीभैलोमा ठूला साउण्ड सिस्टममा आधुनिक गीत बजाउने र नयाँ शैलीमा नाच्ने क्रम बढेको छ ।

बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाइरहेका छन् । तर, बजारमा देखिएको चहलपहलमा परम्परागत देउसीभैलोको मौलिकता भने कमै देखिन्छ ।

कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया र झ्याउरे भाकामा देउसीभैलो खेल्ने गरिन्थ्यो । गीतमार्फत गाउँघरका सुखदुःख, सामाजिक अवस्था र जीवनका कथाव्यथा प्रस्तुत गरिन्थ्यो ।

अहिले यस्ता मौलिक भाका र नाच क्रमशः हराउँदै गएका छन् । रेकर्ड गरिएका आधुनिक गीतमा नाच्ने र ठूलो आवाजमा सङ्गीत बजाउने प्रवृत्ति बढेसँगै देउसीभैलोको परम्परागत शैली पनि कमजोर बन्दै गएको छ ।

स्थानीय प्रेम श्रेष्ठले पछिल्लो समय देउसीभैलोको मौलिकतामा ठूलो परिवर्तन आएको बताउनुभयो । पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्ताले मौलिक कला संस्कृतिको संरक्षणमा पर्याप्त चासो नदेखाउँदा परम्परागत देउसीभैलोको पहिचान कमजोर बनेको उहाँको भनाइ छ ।

“पहिले मादल, बाँसुरी र खैँजडी बजाएर गीतमार्फत कथा, व्यथा र सामाजिक सन्देश सुनाइन्थ्यो । अहिले देउसीभैलोमा आधुनिकता र विकृति मिसिँदै गएको छ”, श्रेष्ठले भन्नुभयो । बागलुङ बजारका रवीप्रसाद शर्माले पनि आधुनिक प्रविधिको विकास र देखासिकीका कारण देउसीभैलोको मौलिकता हराउँदै गएको बताउनुभयो ।

तिहार र देउसीभैलो नेपाली समाजको सांस्कृतिक पहिचान भएकाले यसको मौलिक स्वरूप जोगाउन आवश्यक रहेको उहाँको भनाइ छ । युवा पुस्ताले परम्परागत गीत, सङ्गीत र नाचप्रति चासो नदेखाउँदा आधुनिक शैली हाबी हुँदै गएको उहाँले बताउनुभयो । यद्यपि, सबै देउसीभैलो टोली आधुनिक शैलीमै सीमित छैनन् ।

केही समूहले पुराना भाका, बाजा र संस्कृतिलाई निरन्तरता दिने प्रयाससमेत गरिरहेका छन् । बागलुङको भकुण्डे टोल समूहले पाका पुस्ताबाट मौलिक गीत र नाच सिकेर नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले परम्परागत शैलीमा देउसीभैलो खेल्दै आएको छ ।

यस्ता प्रयासले मौलिक संस्कृति संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । देउसीभैलो मनोरञ्जन र दक्षिणा संकलन गर्ने माध्यम मात्र होइन, नेपाली समाजको कला, संस्कृति, भाषा र सामूहिक एकताको अभिव्यक्ति पनि हो ।

समयअनुसार यसको शैलीमा परिवर्तन आउनु स्वाभाविक भए पनि मौलिक बाजा, लोकभाका र नाचलाई निरन्तरता दिन आवश्यक छ । नयाँ पुस्तालाई परम्परागत संस्कृति हस्तान्तरण गर्न नसकिए तिहारसँग जोडिएको सांस्कृतिक पहिचान नै हराउँदै जाने जोखिम छ ।

तस्वीर : डम्मर बुढा मगर

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung