२१ कार्तिक २०८३, शुक्रबार

 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा दुई नयाँ बीमा योजना सार्वजनिक

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दुई नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेसँगै ‘एसपीआईएल विद्यार्थी सुरक्षा’  (SPIL Vidhyarthi Suraksha) र ‘एसपीआईएल मेडी–सुरक्षा प्लस’ (SPIL Medi-Suraksha Plus) नामका बीमा योजना बजारमा ल्याएको हो।

समाजका महत्वपूर्ण क्षेत्रहरूमा बीमाको पहुँच विस्तार गर्ने तथा विद्यार्थी, शैक्षिक संस्था र लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले यी योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘एसपीआईएल विद्यार्थी सुरक्षा’ विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थामा अध्ययनरत ३ देखि ४० वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी तयार गरिएको सामूहिक बीमा योजना हो। यस योजनाले विद्यार्थीलाई दुर्घटनाबाट उत्पन्न हुन सक्ने जोखिम, तोकिएका चिकित्सा खर्च तथा निश्चित प्रकारका गम्भीर रोगबाट आर्थिक सुरक्षा प्रदान गर्नेछ।

यस योजनाको अर्को महत्वपूर्ण विशेषता शैक्षिक निरन्तरता सुविधा हो। बीमालेखमा प्रस्तावकका रूपमा उल्लेख गरिएका अभिभावक वा कानुनी संरक्षकको दुर्घटनाका कारण मृत्यु भएमा वा स्थायी पूर्ण अशक्तता भएमा विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यस सुविधाले अभिभावकमा निर्भर विद्यार्थीको शैक्षिक भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, कम्पनीले सार्वजनिक गरेको अर्को योजना ‘एसपीआईएल मेडी–सुरक्षा प्लस’ पनि स्वास्थ्य तथा आर्थिक सुरक्षालाई लक्षित गरी ल्याइएको नयाँ बीमा योजना हो। कम्पनीले यी योजनामार्फत बीमाको दायरा फराकिलो बनाउँदै विभिन्न उमेर समूह तथा व्यवसायिक क्षेत्रका नागरिक र संस्थालाई बीमाको पहुँचमा ल्याउने लक्ष्य राखेको छ।

नयाँ बीमा योजनाहरूले विद्यार्थी, शैक्षिक संस्था तथा लघु, साना र मझौला उद्यम क्षेत्रमा बीमासम्बन्धी सुरक्षा विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने कम्पनीको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung