बागलुङ। जैमिनी नगरपालिका–२ दमेकका मातृका प्रसाद शर्मा अहिले किबी खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।
हावापानी अनुकूल नहुँदा ३० रोपनी जग्गामा लगाएको अलैँची नष्ट भएपछि उहाँले चार वर्षअघि किबी खेती सुरु गर्नुभएको थियो । रोजगारीका लागि दुई वर्ष मलेसिया बिताउनुभएका शर्मा अहिले गाउँमै व्यावसायिक किसानका रूपमा परिचित हुनुहुन्छ ।
सुरुमा पाँच रोपनी जग्गामा किबी खेती गर्नुभएका उहाँले उत्पादन र आम्दानी राम्रो हुन थालेपछि खेती विस्तार गर्नुभएको हो । अहिले उहाँले आफ्नै बारीको २५ रोपनी क्षेत्रफलमा किबी खेती गर्नुभएको छ ।
तीन वर्षमै किबीले उत्पादन दिन थालेपछि उत्साहित हुनुभएका शर्माले गत वर्ष किबी बिक्रीबाट रु चार लाख आम्दानी गर्नुभयो । यस वर्ष उत्पादन बढ्ने भएकाले आम्दानी दोब्बर पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
“सुरुमा पाँच रोपनीमा किबी लगाएको थिएँ । उत्पादन राम्रो भएपछि थप २० रोपनीमा विस्तार गरेँ । गत वर्ष रु चार लाख आम्दानी भयो, यस वर्ष दोब्बर हुने अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो ।
किबी खेती विस्तारका लागि गण्डकी प्रदेश सरकारबाट रु २० लाख अनुदानसमेत प्राप्त भएको शर्माले बताउनुभयो । अहिले उत्पादित किबी बजारमा पठाउने तयारी भइरहेको छ । उहाँले किबीसँगै सुन्तला खेती पनि सुरु गर्नुभएको छ ।
किबी खेतीबाट राम्रो सम्भावना देखिएपछि शर्माले गाउँका अन्य किसानलाई पनि यसतर्फ आकर्षित गर्नुभएको छ । उहाँका अनुसार दमेकमा एक दर्जनभन्दा बढी किसान किबी खेतीमा आबद्ध भइसकेका छन् । आफ्नो क्षेत्रमा सबैभन्दा बढी क्षेत्रफलमा किबी खेती गर्ने किसान आफू रहेको उहाँको दाबी छ ।
जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दमेकको तल्लो क्षेत्र किबी खेतीका लागि उपयुक्त देखिएको बताउनुभयो । किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहन गर्न वडाले ५०० किबीका बिरुवा अनुदानमा वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा समुद्री सतहबाट एक हजारदेखि दुई हजार ५०० मिटर उचाइसम्म किबी खेती गर्न सकिने भए पनि उपयुक्त हावापानी, तापक्रम र माटो आवश्यक पर्ने कृषि प्राविधिक बताउँछन् ।



















































































































































































































