१४ कार्तिक २०८३, शुक्रबार

 

पत्रकार पक्राउको विरोधमा भोलि माइतीघरमा मौन धर्ना

(पत्रकार पक्राउन गर्न सादा पोशाकमा प्रहरी नयाँ पत्रिकाको कार्यालयमा)

काठमाडौं । सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न प्रहरी परिचालन गरिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन् ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत पूर्वपदाधिकारीहरूले शनिबार बिहान ८ बजेदेखि एक घण्टासम्म मौन धर्ना आयोजना गर्ने जानकारी दिएका हुन् । उनीहरूले धर्नामा सहभागी हुन पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आह्वान गरेका छन् ।

समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने प्रयास गरिएको घटनाले शाही शासनको झल्को दिएको उल्लेख गर्दै पूर्वपदाधिकारीहरूले यसप्रति गम्भीर आपत्ति जनाएका छन् । यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, संविधानप्रदत्त मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको मर्मविपरीत रहेको उनीहरूको ठहर छ ।

नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदी, नयाँ पत्रिकाका पत्रकार नवराज मैनाली र दियोपोस्टका पत्रकार सुदीप विश्वकर्मालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको घटनाप्रति उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी यस्तो कार्यले पत्रकारिताको स्वतन्त्रतामाथि चुनौती थपेको विज्ञप्तिमा उल्लेख छ । प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा सञ्चारमाध्यमको मात्र सरोकार नभई नागरिकको सूचना पाउने र अभिव्यक्ति दिने अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएको उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार गोविन्द आचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, निवर्तमान उपाध्यक्ष उदय जिएम, निवर्तमान महासचिव रोसन पुरीलगायत पूर्वपदाधिकारी तथा पूर्वकेन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

तस्बिर : नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung