बागलुङ । समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षा तथा प्रहरी हस्तक्षेपको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान विरोध प्रदर्शन गरेको हो ।
वर्षाको पर्वाह नगरी प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तथा सरकारको गतिविधिको विरोधमा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गर्दै समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने कार्यप्रति आपत्ति जनाएका थिए ।
शुक्रबार साँझ सादा पोसाकमा आएका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका पत्रकार शोभराज बराल र डीएनखबरका पत्रकार धीरज बस्नेतलाई नियन्त्रणमा लिएका थिए ।
त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेका थिए । दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी खोजी गर्दै प्रहरी टोली दियोपोस्टको कार्यालयभित्रै प्रवेश गरेको थियो ।
पत्रकार पक्राउको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले घटनामा प्रधानमन्त्री कार्यालय तथा सचिवालयको कुनै संलग्नता नरहेको दाबी गरेको थियो । प्रहरीले शुक्रबार राति नै नियन्त्रणमा लिएका सबै पत्रकारलाई रिहा गरिसकेको छ ।
समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी बहस पुनः सतहमा ल्याएको छ ।
तस्बिर : नेपाल खबरबाट



















































































































































































































