बागलुङ। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सहयोगमा सहकारी संस्थाको नियामकीय व्यवस्था सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार बागलुङ बजारमा आयोजित कार्यक्रममा जिल्लाका २७ वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापक गरी ४८ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रमा भइरहेका नियामकीय परिवर्तनले प्रारम्भिक सहकारी संस्थाहरूमा अन्योल सिर्जना गरेको बताउनुभयो। उहाँले सञ्चालक तथा व्यवस्थापकहरू वित्तीय व्यवस्थापन, नियामकीय परिवर्तन र सहकारी सञ्चालनसम्बन्धी विषयमा निरन्तर जानकार हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले सहकारी संस्थाहरू सदस्यप्रति जिम्मेवार र जवाफदेही भएर सञ्चालन हुनुपर्ने बताउँदै स्वनियमन, सुशासन र वित्तीय अनुशासनलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार एवं बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बाल्यकालदेखि नै बचत गर्ने बानीको विकास गराउन आफ्नो पालिकाले सहकारी शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गरेको जानकारी दिनुभयो।

संघका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारी सञ्चालक तथा व्यवस्थापन पक्षले सदस्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले तालिम तथा शिक्षामा गरिने खर्चलाई संस्थाको दीर्घकालीन विकासका लागि गरिएको लगानीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको प्राविधिक सत्र नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो। उहाँले सहकारीका नियामकीय निकाय, कानुन, नियम तथा मापदण्ड, नियामकीय अनुपालना, पूँजी पर्याप्तता र जोखिम विश्लेषणलगायतका विषयमा प्रस्तुतीकरण तथा अन्तरक्रिया गर्नुभएको थियो।
कार्यक्रम संघका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत थमप्रसाद शर्मा र सञ्चालन वीरबहादुर किसानले गर्नुभएको थियो।



















































































































































































































