बागलुङ । बागलुङमा सञ्चालित सम्बोधन परियोजनाले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुदृढीकरणका लागि उल्लेखनीय काम गरेको छ । जिल्लाका १० वटै स्थानीय तहमा स्वास्थ्य संस्थाको स्तरोन्नति र स्वास्थ्यकर्मीको क्षमता विकासलाई प्राथमिकता दिँदै परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन ९एनजिडिएफ० र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालित परियोजनाले गत आर्थिक वर्षमा स्वास्थ्य, अपाङ्गता, कुष्ठरोग, हात्तीपाइले तथा पछाडि परेका समुदायको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
जिल्लाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीसँग परियोजनाका कार्यक्रम र प्रगतिबारे आयोजित छलफल तथा अन्तरक्रियामा परियोजना संयोजक विष्णु सुवेदीले परियोजनाले स्वास्थ्य सेवा सुधार र पहुँच विस्तारका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षमा विभिन्न विषयमा बैठक, सार्वजनिक सुनुवाइ, सरोकारवालाको अभिमुखीकरण, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम तथा स्वास्थ्य संस्थालाई आवश्यक मेसिनरी उपकरण सहयोगलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।
विपद्का समयमा पनि परियोजनाले साझेदारी र सहयोग गरेको उहाँले बताउनुभयो । सुवेदीले गत आर्थिक वर्षमा विभिन्न कार्यक्रम सञ्चालनका लागि १ करोड ९० लाख ७७ हजार ४ सय ३९ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।
कार्यक्रममा परियोजनाका टिम लिडर गणेश बरुवालले गत वर्ष सञ्चालन गरिएका मुख्य कार्यक्रम र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो ।
उहाँले पहिचान हुन नसकेर उपचारको पहुँचबाहिर रहेका अपाङ्गता भएका व्यक्तिको पहिचान तथा उपचारमा सहयोग, स्वास्थ्य संस्थामा प्रविधि हस्तान्तरण र सरसफाइसम्बन्धी कार्यक्रमलाई परियोजनाले प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा आगामी दिनमा परियोजनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन पत्रकार तथा सञ्चारकर्मीबाट सुझावसमेत संकलन गरिएको थियो । परियोजनाका कार्यक्रम फोकल पर्सन ममिता पुनको अध्यक्षता र अनुगमन तथा प्राविधिक अधिकृत सुजन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



















































































































































































































