बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटीले गलकोटमा राष्ट्रिय जनजागरण अभियान सुरु गरेको छ ।
‘निरङ्कुशता र अराजकताको विरोध गरौँ, राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ’ भन्ने नारासहित नगर कमिटीले अभियानको उद्घाटन गरेको हो । पार्टीले देशव्यापी रूपमा सञ्चालन गरेको दुईमहिने राष्ट्रिय जनजागरण अभियानअन्तर्गत गलकोटमा कार्यक्रम आयोजना गरिएको हो ।
अभियानमार्फत राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता, सुशासन, जनजीविकाका सवाल, महँगी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध जनमत निर्माण गर्ने पार्टीले जनाएको छ । साथै बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका विषयलाई पनि अभियानमा उठाइने बताइएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य फमलाल निउरेले वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै देशमा बढ्दै गएको बेथिति, विसङ्गति र अनियमितताविरुद्ध जनतालाई सचेत गराउन अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले सरकारका गलत गतिविधिको भण्डाफोर गर्दै पार्टीका विचार र धारणा जनतामाझ पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पार्टी केन्द्रको परिपत्र नगर सहइन्चार्ज चन्द्रदत्त रेग्मीले प्रस्तुत गर्नुभएको थियो । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज ज्ञामनाथ गैरे ‘अनिल’ र केन्द्रीय आयोजक समिति सदस्य तिलक उप्रेतीले समसामयिक राजनीतिक अवस्था तथा अभियानको उद्देश्यबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले अभियानको उद्देश्य, वर्तमान राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे विचार व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर संयोजक गंगा भुजेलको अध्यक्षता, नगर इन्चार्ज हर्क थापाको स्वागत र प्रदेश सदस्य खिम साहानीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































