बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजारबाट जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार साँझ बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित अमर खड्काको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले घरधनी अमर खड्कासहित ९ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो । उनीहरूको साथबाट १ लाख ६४ हजार ९२५ रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















































































































































































































