बागलुङ । नेकपा (एमाले) बागलुङले जिल्ला, पालिका र वडा अधिवेशनको मिति तय गरेको छ । पार्टीको जिल्ला कमिटी बैठकले आगामी मंसिर २८ गते वडा अधिवेशन, पुस ६ गते पालिका अधिवेशन र माघ ९ र १० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
गलकोट नगरपालिकाको हटिया बजारमा सोमबार सम्पन्न जिल्ला कमिटी बैठकले जिल्लाका ८५ वटै वडामा मंसिर २८ गते एकैदिन अधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैगरी, जिल्लाका १० वटै पालिकामा पुस ६ गते अधिवेशन सम्पन्न गरिनेछ । वडा र पालिका अधिवेशनपछि माघ ९ र १० गते जिल्ला अधिवेशन आयोजना गरिने एमालेले जनाएको छ ।
जिल्ला कमिटीको नियमित कार्यकाल बाँकी रहे पनि अध्यक्ष हिराबहादुर केसी केन्द्रीय सदस्यको उम्मेदवार बनेपछि अध्यक्ष पद रिक्त भएको थियो । अध्यक्ष पद रिक्त रहेका जिल्लामा छ महिनाभित्र अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले दिएको निर्देशनअनुसार बागलुङमा अधिवेशनको मिति तय गरिएको हो ।
बैठकले वर्तमान जिल्ला कमिटीलाई संगठन कमिटीमा रूपान्तरण गर्दै उपाध्यक्ष विष्णुप्रसाद भुषालको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । उक्त कमिटीले वडा, पालिका र जिल्ला अधिवेशनको तयारी तथा व्यवस्थापन गर्नेछ ।
बैठकमा जिल्लाको समग्र संगठनात्मक अवस्था, पार्टीका गतिविधि तथा आगामी राजनीतिक र सांगठनिक योजनाबारे छलफल भएको थियो । वडा तथा पालिकाका प्रतिनिधिले आ–आफ्नो क्षेत्रको सांगठनिक अवस्था र पार्टी गतिविधिबारे रिपोर्टिङ गरेका थिए ।
जिल्लामा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने, स्थानीय तहसम्म पार्टीका गतिविधि विस्तार गर्ने तथा समसामयिक राजनीतिक विषयमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि बैठकले आवश्यक निर्णय गरेको कार्यालय सचिव चन्द्रमणि उपाध्यायले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनकुमारी केसीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष विष्णुप्रसाद भुषालले गर्नुभएको थियो । बैठक सञ्चालन गणेशबहादुर थापामगरले गर्नुभएको थियो ।



















































































































































































































