बागलुङ । बागलुङमा जन्मिनुभएका साहित्यकार राम बिन्दु श्रेष्ठले रुसको मस्कोमा आयोजित अन्तर्राष्ट्रिय युरेसिया पुरस्कारमा ‘मित्रताको पुल’ विधातर्फ तेस्रो पुरस्कार प्राप्त गर्नुभएको छ ।
सन् २०२६ को प्रतियोगितामा ७३ देशबाट ५ हजार ५१२ वटा आवेदन प्राप्त भएका थिए । अक्टोबर १५ मा मस्कोस्थित राष्ट्रिय केन्द्र ‘रुस’ को कन्सर्ट हलमा आयोजित समारोहमा श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।
बागलुङ नगरपालिका–३ कम्पुटोलमा जन्मिनुभएका श्रेष्ठ हाल काठमाडौंमा बसोबास गर्नुहुन्छ । उहाँका ‘मेरा सोभियत सम्झनाहरू’, ‘हजारौँ विजय’, ‘सम्बन्धका पाटाहरू’ लगायत कृति प्रकाशित छन् । पेशाले इन्जिनियर श्रेष्ठ साहित्य सिर्जनासँगै नेपाल–रुस सम्बन्ध प्रवर्द्धनमा सक्रिय हुनुहुन्छ ।
उहाँ रुस–नेपाल सहकार्य तथा मैत्री समाजको साहित्य आयोगका उपाध्यक्ष, सोभियत तथा रुसी अलुम्नाइ संस्था ‘मित्र कुञ्ज’ का उपाध्यक्ष र नेपाल–रुस साहित्य समाजका महासचिव हुनुहुन्छ ।
नेपाल र रुसका साहित्यिक समुदायबीच समन्वय गर्दै दुई देशका जनता तथा समुदायबीच सहकार्य र संवाद प्रवर्द्धनमा पुर्याएको योगदानका लागि श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
अन्तर्राष्ट्रिय सहकार्यको विकास, परम्परागत मूल्यको संरक्षण तथा युरेसियाली क्षेत्रमा सांस्कृतिक सम्बन्ध सुदृढ गर्न योगदान पुर्याउने व्यक्तिलाई युरेसिया पुरस्कार प्रदान गरिन्छ । ‘यूरेशिया’ संस्थाले रुसी सहयोग निकाय रोसोट्रुडनिचेस्ट्भोसँगको साझेदारीमा यो पुरस्कार स्थापना गरेको हो ।



















































































































































































































