७ कार्तिक २०८३, शुक्रबार

 

जमरा नराख्ने माझी समुदायको डेढ सय वर्ष पुरानो परम्परा

बागलुङ। बागलुङको माझी समुदायले पुस्तौँदेखि घरमा जमरा नराखी दसैँ मनाउँदै आएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखाको खनियाबास र मालढुङ्गामा बसोबास गर्ने १७ माझी परिवारले अनिष्ट हुने जनविश्वासका कारण घटस्थापनामा जमरा नराख्ने परम्परालाई निरन्तरता दिएका हुन् ।

स्थानीयका अनुसार विगतमा जमरा राख्ने चलन रहे पनि जमरा राख्दा कन्याहरूको मृत्यु भएको र अनिष्ट निम्तिएको भन्ने पुर्खाको भनाइपछि जमरा राख्न छाडिएको हो ।

स्थानीय कृष्ण माझीले करिब एक सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राख्ने चलन रहेपनि त्यसयता जमरा नराखिएको बताउनुभयो ।

“जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराखेपछि त्यस्तो घटना हुन छाडेको भन्ने सुनेका हौँ,” उहाँले भन्नुभयो, “जमरा नराखे पनि दसैँ भने राम्रोसँग मनाउँदै आएका छौँ ।”

विजयादशमीका दिन बागलुङ बजार वा नजिकैको कालिका भगवती मन्दिरबाट जमरा ल्याएर टीकासँगै लगाउने गरिएको उहाँले बताउनुभयो । स्थानीय देउकुमारी माझीका अनुसार घरमा जमरा नराख्ने भए पनि दसैँको टीका लगाउने परम्परा कायम छ ।

कालीगण्डकी नदी किनारमा बसोबास गर्ने माझी समुदायको परम्परागत पेसा माछा मार्ने, डुङ्गा खियाउने र बालुवा निकाल्ने थियो । पछिल्लो समय उनीहरू वैकल्पिक पेसातर्फ लागे पनि जमरा नराखी दसैँ मनाउने परम्परालाई भने निरन्तरता दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung