७ कार्तिक २०८३, शुक्रबार

 

डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपालमा

काठमाडौं । विश्वव्यापी स्ट्रिमिङ प्लेटफर्म जिओहटस्टार (JioHotstar) ले नेपाली ओटीटी प्लेटफर्म डिगोसँग साझेदारी गर्दै नेपालमा सेवा विस्तार गरेको छ।

यससँगै नेपाली दर्शकले डिगोमार्फत भारतीय चलचित्र, चर्चित वेब सिरिज, रियालिटी शो र अन्तर्राष्ट्रिय खेलकुद हेर्न पाउने भएका छन्।

साझेदारीअन्तर्गत जिओहटस्टारका चर्चित चलचित्र ‘१२थ फेल’, ‘केसरी च्याप्टर २’, ‘भेडिया’ र ‘सुपर ३०’ लगायतका सामग्री उपलब्ध हुनेछन्। त्यस्तै, ‘स्पेसियल अप्स’, ‘बिग बोस’ र ‘कफी विथ करण’ जस्ता लोकप्रिय कार्यक्रम पनि हेर्न सकिनेछ।

डिगोले जिओहटस्टारका सामग्रीका लागि छुट्टै खण्ड तयार गरेको छ। भारतीय मनोरञ्जनसँगै डिगोमा प्रत्येक हप्ता नयाँ नेपाली चलचित्र थपिने कम्पनीले जनाएको छ।

दर्शकले ला लिगा, मोटो जीपी र काराबाओ कपलगायतका अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता पनि हेर्न सक्नेछन्।

जिओहटस्टारको सदस्यता मोबाइल र प्लस गरी दुई योजनामा उपलब्ध छ। मोबाइल प्लानको शुल्क एक महिनाका लागि २४९ रुपैयाँ, तीन महिनाका लागि ६९९ रुपैयाँ र एक वर्षका लागि २ हजार ४९९ रुपैयाँ छ।

प्लस प्लानको शुल्क क्रमशः ३९९, ८९९ र २ हजार ६९९ रुपैयाँ तोकिएको छ। दर्शकले www.watchdgo.com वा डिगो एपमार्फत सदस्यता लिन सक्नेछन्।

जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले नेपाललाई आफ्नो विश्वव्यापी विस्तारको महत्त्वपूर्ण बजारका रूपमा लिएको बताए।

डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले नेपाली चलचित्र, भारतीय मनोरञ्जन र अन्तर्राष्ट्रिय खेलकुदलाई एउटै प्लेटफर्ममा उपलब्ध गराउने साझेदारीको उद्देश्य रहेको बताए।

डिगो नेपाल सरकारबाट इजाजतपत्र प्राप्त सदस्यतामा आधारित ओटीटी प्लेटफर्म हो। यसले नेपाली चलचित्र, वेब सिरिज, प्रत्यक्ष खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung