४ कार्तिक २०८३, मंगलवार

 

१९ लाखको लागतमा पुनर्निर्माण गरियो बास्बोटको ऐतिहासिक देउराली मन्दिर

पर्वत । जलजला गाउँपालिका–७, बास्बोटमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको देउराली मन्दिर पुनर्निर्माण गरिएको छ। स्थानीयवासी, प्रवासमा रहेका बास्बोटवासी र जलजला गाउँपालिकाको आर्थिक सहयोगमा करिब १९ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो।

मन्दिर पुनर्निर्माणका लागि स्थानीय तथा प्रवासमा रहेका बास्बोटवासीबाट ९ लाख रुपैयाँ र जलजला गाउँपालिकाबाट ९ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। सडक निर्माणका क्रममा जोखिममा परेको मन्दिरको संरक्षण गर्ने उद्देश्यले पुनर्निर्माण अभियान सञ्चालन गरिएको हो।

लस्ती–बास्बोट–घाखेत सडक निर्माणका क्रममा मन्दिर जोखिममा परेपछि यसको संरक्षण र पुनर्निर्माणको पहल थालिएको थियो। स्थानीयवासीले सहयोग सङ्कलन अभियान सञ्चालन गरेपछि गाउँपालिकाले सडकको कुनामा रिटेनिङ वाल निर्माणका लागि ९ लाख रुपैयाँ सहयोग गरेको थियो।

स्थानीयवासी, प्रवासमा रहेका बास्बोटवासी तथा विभिन्न स्थानका धर्मप्रेमीहरूको सहयोगमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको आर्थिक सङ्कलन अभियानका संयोजक रामकुमार पौडेलले बताउनुभयो।

मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि विशेष कार्यक्रम आयोजना गरी विधिपूर्वक सेवापूजा गरिएको छ। कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले देउराली मन्दिर स्थानीय समुदायको आस्था र विश्वाससँग जोडिएको धार्मिक तथा ऐतिहासिक सम्पदा भएको बताउनुभयो।

उहाँले यस्ता धार्मिक सम्पदाले स्थानीय समुदायलाई परम्परा, संस्कृति र मौलिक पहिचानसँग जोड्ने उल्लेख गर्दै मन्दिर पुनर्निर्माणले धार्मिक गतिविधिको निरन्तरता, सम्पदाको संरक्षण र सांस्कृतिक परम्पराको जगेर्नामा योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गना आचार्यले मन्दिर पुनर्निर्माणमा स्थानीय तथा प्रवासमा रहेका बास्बोटवासी र गाउँपालिकाले गरेको सहयोगले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा सामूहिक प्रयासको महत्त्व उजागर गरेको बताउनुभयो।

आफ्नो जन्मभूमिको धार्मिक तथा सांस्कृतिक सम्पदाप्रति चासो राख्दै बास्बोटवासीले आर्थिक सहयोग गर्नुले गाउँसँगको सम्बन्ध र सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गरेको उहाँको भनाइ थियो।

सर्वसिद्धि धाम पञ्चकोटका अध्यक्ष जगन्नाथ आचार्यले स्थानीय समुदाय, प्रवासी बास्बोटवासी र गाउँपालिकाबीचको सहकार्यबाट मन्दिर पुनर्निर्माण सम्भव भएको बताउनुभयो। उहाँले यसले आगामी दिनमा गाउँका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणका लागि सामूहिक पहललाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा सदस्य लक्ष्मी आचार्य, समाजसेवी युवा मनोहर आचार्य तथा स्थानीय हिमालप्रसाद आचार्य र रमेश आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो।

बास्बोट देउराली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुस्कल आचार्यको अध्यक्षता, उपाध्यक्ष रामकुमार पौडेलको स्वागत र सचिव कमलनयन आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung