बागलुङ । एकता सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
साधारणसभामा संस्थापक अध्यक्ष चण्डीप्रसाद शर्मा र सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुकुन्दप्रसाद शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभाले सचिव रीतादेवी शर्माद्वारा प्रस्तुत संस्थाको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष लक्ष्मणप्रसाद शर्माको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हरिराम अधिकारीको लेखा प्रतिवेदन पारित गरेको छ ।
सो अवसरमा सहकारीमा असल कारोबार गर्ने १० जना शेयर सदस्यलाई सम्मान गरिएको थियो ।
२०५६ सालमा स्थापना भएको यस सहकारीमा हाल एक हजार ८९४ जना शेयर सदस्य रहेका छन् । सहकारीको शेयर पुँजी ८ करोड १७ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ ।
बागलुङ नगरपालिका–२ आवारोडमा मुख्य कार्यालय रहेको सहकारीले १३ जनालाई रोजगारी प्रदान गरेको छ । सहकारीले काठेखोला गाउँपालिकाको रिजालचोक र गलकोट नगरपालिकाको हटियास्थित सेवा केन्द्रमार्फत पनि सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रम सहकारीका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष रुद्रबहादुर महतको स्वागत र सचिव रीतादेवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































