मुस्ताङ । मुस्ताङको उत्तरी नाका हुँदै चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा ३० अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन् ।
चीनसँगको व्यापारिक नाका कोरला हुँदै आयात बढेपछि मुस्ताङ भन्सार कार्यालयले १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका अनुसार समीक्षा अवधिमा ३० अर्ब ८ करोड ४८ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन् ।
सोही अवधिमा २९ करोड ५२ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् ।
आयात र निर्यात गरी कुल ३० अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी अविन्द्र सिंहका अनुसार चार महिनाको अवधिमा सरकारले १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
उनका अनुसार दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी विभिन्न सामग्रीको आयात बढ्दा राजस्व संकलनमा समेत वृद्धि भएको हो ।
चाडपर्वका लागि आवश्यक सामग्री आयात हुने क्रम बढेकाले भन्सार राजस्वमा उल्लेख्य योगदान पुगेको उनले बताए ।
चाडपर्वको समयमा दैनिक ३० करोडदेखि ४५ करोड रुपैयाँसम्म राजस्व संकलन हुने गरेको थियो ।
चाडपर्व सकिएसँगै आयातको परिमाण घट्न थालेकाले राजस्व संकलन पनि क्रमशः कम हुँदै जाने सिंहले जानकारी दिए ।



















































































































































































































