बागलुङ । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभामा दुई जना कर्मचारी सम्मानित भएका छन् ।
शनिबार ज्ञानोदय बुद्ध विहारको सभाकक्षमा सम्पन्न साधारण सभामा उत्कृष्ट कर्मचारीका रूपमा संस्थाका प्रबन्धक उत्तमप्रसाद श्रेष्ठ र बजार प्रतिनिधि धनमाया पुन मगरलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मोहनमाया केसी श्रेष्ठ, संस्थाका अध्यक्ष दुर्वलकाजी राजभण्डारी, संस्थापक अध्यक्ष ईश्वर बज्राचार्य र निवर्तमान अध्यक्ष ईश्वर मलेपतीले सम्मानित कर्मचारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सहकारी स्थापनाकालदेखि नै कार्यरत प्रबन्धक श्रेष्ठले १९ वर्षदेखि संस्थाको व्यवस्थापन गर्दै आउनुभएको छ । उहाँको लगनशीलता, इमानदारिता र कुशल व्यवस्थापनले सहकारीलाई उचाइमा पुर्याउन महत्वपूर्ण योगदान गरेको अध्यक्ष दुर्वलकाजी राजभण्डारीले बताउनुभयो ।
साधारण सभामा ज्येष्ठ सेयर सदस्यतर्फ सुषमा देवी श्रेष्ठ, राजकुमारी श्रेष्ठ र मोहनमाया केसी श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट बचतकर्ताका रूपमा विनय शाक्य सम्मानित हुनुभएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष दुर्वलकाजी राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष दीपक ज्योति श्रेष्ठको स्वागत मन्तव्य र सचिव भीमसेन शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०६४ साल कात्तिक २७ गते ईश्वर बज्राचार्यको नेतृत्वमा स्थापना भएको सहकारीमा हाल १४९ जना सेयर सदस्य रहेका छन् । सहकारीको सेयर पुँजी एक करोड ३५ लाख ९८ हजार पाँच सय रुपैयाँ रहेको छ ।
बागलुङ नगरपालिका–३ लालिगुराँस चोकमा कार्यालय रहेको सहकारीले चार जना युवालाई रोजगारीसमेत प्रदान गरेको छ ।




















































































































































































































