बागलुङ । बागलुङको सामाजिक संस्था सुनौलो बागलुङले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम क्यान्सर पीडित तथा दुर्घटनाबाट प्रभावित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले देउसीभैलोबाट संकलन गरेको १ लाख ५५ हजार रुपैयाँ पाँच परिवारका सदस्यलाई प्रदान गरेको संस्थाका अध्यक्ष दिलिप प्रतेलले जानकारी दिनुभयो ।
संस्थाले सामाजिक सेवाको उद्देश्यसहित विगत पाँच वर्षदेखि निरन्तर देउसीभैलो कार्यक्रम आयोजना गर्दै आएको छ ।

जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका विभिन्न स्थानमा देउसीभैलो खेलेर संकलन गरिएको रकम परोपकारी कार्यमा खर्च गरिएको हो ।
संस्थाले जैमिनी नगरपालिका–१ का क्यान्सर पीडित चन्द्रकला थापा र मनबहादुर सोनमलाई जनही २० हजार रुपैयाँ सहयोग गरेको छ ।
त्यस्तै, बरेङ गाउँपालिका–१ की सवारी दुर्घटना प्रभावित कुमारी पुनलाई ३० हजार रुपैयाँ प्रदान गरिएको छ ।
यसैगरी, जैमिनी नगरपालिका–३ पौडेलबारीका बोनम्यारो क्यान्सर पीडित टेकबहादुर विकलाई ३० हजार र सोही वडाका प्यारालाइसिस पीडित दिलबहादुर छन्त्याललाई २० हजार रुपैयाँ सहयोग गरिएको छ ।

जैमिनी नगरपालिका–१० का सवारी दुर्घटनामा परी प्यारालाइसिसबाट प्रभावित एकै परिवारका कृष्णबहादुर घर्ती र धनकली घर्तीलाई ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष प्रतेलले बताउनुभयो ।
अध्यक्ष प्रतेलका अनुसार संस्थाले देउसीभैलोबाट संकलित रकम सामाजिक तथा परोपकारी क्षेत्रमा खर्च गर्दै आएको छ ।
हाल संस्थाको खातामा एक लाख रुपैयाँ बचत रहेको र उक्त रकम पनि दुःख तथा पीडामा परेका नागरिकको सहयोगमा खर्च गरिने उहाँले बताउनुभयो ।




















































































































































































































