कास्की । पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला अदालत कास्कीले संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले कात्तिक १७ गते नेपालीसहित सात जनालाई कैद सजाय, जरिबाना तथा बिगो असुल गर्ने फैसला गरेको हो । सहकारीको सिर्जनाचोकस्थित कार्यालयमार्फत भएको रकम हिनामिना प्रकरणमा अदालतले नेपालीलाई ८ वर्ष कैद सजाय सुनाएको हो ।
फैसलाअनुसार सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई ७ वर्ष कैद तथा जनही १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना तोकिएको छ । त्यस्तै, निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना गर्ने फैसला भएको छ ।
यस प्रकरणमा अझै आठ जना प्रतिवादी फरार रहेका छन् । अदालतको फैसलाको पूर्णपाठ आउन बाँकी छ ।
सुरुमा ५२४ जनाको जाहेरीका आधारमा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबीसहित २०८० भदौ १२ गते कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको थियो । त्यसमध्ये पाँच किस्तामा ४०० जनाको मिलापत्र भएको थियो । बाँकी ११० जनाको जाहेरीका आधारमा करिब १८ करोड रुपैयाँ बिगो मागदाबीसहित १५ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो ।
२०८२ कात्तिक २५ गते कास्की जिल्ला अदालतमा दायर भएको पूरक अभियोगपत्रका आधारमा फैसला भएको हो ।
नेपालीलाई बागलुङको इमेज सहकारी ठगी प्रकरणमा समेत पुर्पक्षका लागि बागलुङ कारागार चलान गरिएको थियो । पोखराको सहकारी ठगी मुद्दामा फैसला हुँदा पनि उनी बागलुङ कारागारमै रहेका थिए ।



















































































































































































































