१ मंसिर २०८३, मंगलवार

 

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै बडिगाड, नौटुवा गाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना

बागलुङ। बागलुङको दुर्गम गाउँ नौटुवामा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ। बडिगाड गाउँपालिका–१, नौटुवामा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको छ।

बडिगाड गाउँपालिकाले स्थानीय नागरिकलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो।

यसअघि स्वास्थ्य सेवा लिन एक घण्टाभन्दा बढी पैदल हिँडेर दगातुन्डाँडा स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता थियो।

स्वास्थ्य इकाइ सञ्चालनमा आएसँगै नौटुवा क्षेत्रका नागरिकलाई गाउँमै खोपसहितका आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको अध्यक्ष अधिकारीले बताउनुभयो।

गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँ लागतमा गत वर्ष नै निर्माण भएको भवनमा गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्था मिलाएको छ। एक जना स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी सेवा सञ्चालन गरिएको हो।

यसअघि खोप केन्द्रका रूपमा सञ्चालन हुँदै आएको उक्त स्थानबाट अब प्रसूति (बर्थिङ) सेवाबाहेक अन्य आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि स्थानीयवासी खुसी भएका छन्।

स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यचौकीको पहुँच टाढा रहेका बस्तीमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung