बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा समय नपुगी जन्मिएका र कम तौल भएका तीन शिशुको सफल उपचार गरिएको छ ।
अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू) मा उपचाररत जैमिनी नगरपालिका–१०, काठेखोला गाउँपालिका–६ र बडिगाड गाउँपालिका–९ का शिशुको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार जैमिनी नगरपालिका–१० का शिशु ३५ हप्ता तीन दिनमा एक हजार ५८० ग्राम तौलसहित जन्मिएका थिए ।
आमामा फोक्सोको क्षयरोग पुष्टि भएपछि शिशुमा समेत क्षयरोगको जोखिम आकलन गरिएको थियो । परीक्षणमा शिशुको रिपोर्ट नेगेटिभ आएपछि आवश्यक पोषण, क्याङ्गारु मदर केयर र क्षयरोग रोकथामसम्बन्धी उपचार प्रदान गरिएको थियो ।
त्यस्तै, काठेखोला गाउँपालिका–६ का शिशु ३६ हप्ता तीन दिनमा एक हजार ४९० ग्राम तौलमा जन्मिएका थिए । उनमा नवजात संक्रमण र जन्डिसको समस्या देखिएको थियो । इन्क्युबेटरमा राखेर उपचार गर्नुका साथै एन्टिबायोटिक, फोटोथेरापी तथा पोषण व्यवस्थापन गरेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।
बडिगाड गाउँपालिका–९ की शिशु अस्पताल ल्याउँदै गर्दा बाटोमै ३४ हप्ता दुई दिनमा एक हजार ४०० ग्राम तौलमा जन्मिएकी थिइन् ।
उनमा रगतमा क्याल्सियमको कमी र जन्डिसको समस्या देखिएको थियो । एनआइसीयूमा विशेष निगरानी, इन्क्युबेटर, क्याल्सियम, फोटोथेरापी र क्याङ्गारु मदर केयर सेवा प्रदान गरेपछि शिशुको स्वास्थ्य सामान्य बनेको अस्पतालले जनाएको छ ।
तीनै शिशुको उपचारमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी तथा बालरोग विशेषज्ञ डा. यशोदा पौडेल, डा. कमल पुष्प थापा र डा. निरज पौडेलसहित चिकित्सक तथा नर्सिङ टोली संलग्न थिए ।
समय नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई विशेष निगरानी तथा उपचार आवश्यक पर्ने भएकाले अस्पतालको एनआइसीयू सेवाले जोखिमपूर्ण अवस्थामा रहेका नवजात शिशुको उपचारमा महत्त्वपूर्ण योगदान पुर्याएको अस्पतालले जनाएको छ ।



















































































































































































