२८ कार्तिक २०८३, शनिबार

 

विश्व मधुमेह दिवसमा बागलुङमा १०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

बागलुङ । विश्व मधुमेह दिवसको अवसरमा बागलुङमा निःशुल्क मधुमेह परीक्षण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

लायन्स क्लब अफ बागलुङ शालिग्राम र लियो क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा नोभेम्बर १४ अर्थात् कात्तिक २८ गते कार्यक्रम सञ्चालन गरिएको हो।

बागलुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिका मन्दिरको प्रवेशद्वारमा आयोजित कार्यक्रममा १०० जना सर्वसाधारणको निःशुल्क मधुमेह परीक्षण गरिएको थियो।

मधुमेह रोगको जोखिम, पहिचान, रोकथाम तथा समयमै स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकताबारे आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालका लिडर काजीमान गुरुङले बताए।

उनका अनुसार पछिल्लो समय बदलिँदो खानपान र जीवनशैलीका कारण मधुमेहको जोखिम बढ्दै गएकाले नागरिकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत गराउन कार्यक्रम गरिएको हो।

विश्व मधुमेह दिवसका अवसरमा लायन्स क्लबले हरेक वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको लायन्स क्लब अफ कालिगण्डकी बागलुङका पूर्वअध्यक्ष नारायण आचार्यले बताए।

आफूलाई मधुमेह छ वा छैन भन्ने जानकारी लिन नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा उनले जोड दिए।

धौलागिरि प्रादेशिक अस्पताल बागलुङका डा. मधु पाण्डेका अनुसार मधुमेहसम्बन्धी सचेतना अभिवृद्धि गर्दै नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउन सके रोगको जोखिम घटाउन तथा नियन्त्रणमा राख्न सकिन्छ।

मधुमेह एक दीर्घकालीन नसर्ने रोग हो। रगतमा ग्लुकोज अर्थात् चिनीको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मोटोपन, वंशाणुगत कारण तथा बढ्दो उमेर यसका प्रमुख जोखिम हुन्।

अत्यधिक तिर्खा लाग्ने, बारम्बार पिसाब लाग्ने, थकान महसुस हुने, आँखा धमिलो देखिने तथा अस्वाभाविक रूपमा तौल घट्ने मधुमेहका सम्भावित लक्षण हुन्।

तर कतिपय व्यक्तिमा कुनै लक्षण नदेखिई पनि मधुमेह हुन सक्ने भएकाले जोखिममा रहेका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराउनु आवश्यक हुन्छ।

मधुमेहको जोखिम घटाउन सन्तुलित तथा पोषणयुक्त खाना खाने, गुलियो पेय पदार्थ र अत्यधिक प्रशोधित खानेकुरा कम गर्ने, नियमित हिँडडुल तथा शारीरिक व्यायाम गर्ने, शरीरको तौल नियन्त्रणमा राख्ने र धूमपान नगर्ने बानी अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिँदै आएका छन्।

मधुमेह देखिएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन, नियमित परीक्षण र खानपानमा ध्यान दिनुपर्छ। मधुमेह नियन्त्रणमा राख्न सकिने भए पनि बेवास्ता गर्दा मुटु, मिर्गौला, आँखा तथा स्नायु प्रणालीमा गम्भीर असर पर्न सक्छ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालको लायन्स वर्ष २०२६/०२७ को ‘Leading with Purpose’ अभियानअन्तर्गत आयोजित कार्यक्रमले समुदायमा मधुमेहसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षणको अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung