बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्थाले रजत जयन्तीको अवसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । बागलुङ नगरपालिका–३ मुलपानी माध्यमिक विद्यालयमा आयोजित शिविरमा ८० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।
बागलुङ नगरपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा आयोजित शिविरमा ६० जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो । त्यस्तै, सहभागी महिलाको सुगर र प्रेसरसमेत परीक्षण गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
महिला हित बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लीलादेवी खड्काले सहकारीले २५ वर्षमा हासिल गरेका आर्थिक उपलब्धि सार्वजनिक गर्नुका साथै महिलामा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।
सहकारीले वित्तीय सेवाका अतिरिक्त जनस्वास्थ्य, सीपमूलक तालिम, प्रौढ शिक्षा, लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी सचेतना तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ ।
२०५२ सालमा महिलाहित संरक्षण समूहका रूपमा सुरु भएको संस्था २०५८ सालमा महिला हित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो । २५ जना महिलाले प्रतिव्यक्ति एक सय रुपैयाँका दरले जम्मा गरेको दुई हजार पाँच सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको सहकारीमा हाल एक हजार ३४९ जना सेयर सदस्य रहेका छन् ।
संस्थाको सेयर पुँजी हाल दुई करोड ६१ लाख रुपैयाँ पुगेको छ ।





















































































































































































































