४ मंसिर २०८३, शुक्रबार

 

बागलुङमा राष्ट्रिय कर सप्ताह : करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागलुङ । राष्ट्रिय कर सप्ताह–२०८३ को अवसरमा बागलुङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आन्तरिक राजस्व कार्यालय बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम गरिएको हो।

मंसिर १ गतेदेखि सुरु भएको राष्ट्रिय कर सप्ताहअन्तर्गत उद्योगी तथा व्यवसायीलाई लक्षित गरी आयोजित कार्यक्रममा कर कानुन, कर दाखिला प्रक्रिया, कर छुटका व्यवस्था तथा कर प्रणालीमा भएका पछिल्ला नीतिगत सुधारबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सहजीकरण गर्दै कर अधिकृत राजन सापकोटाले सरकारले हालै ल्याएको आर्थिक विधेयक २०८३ मार्फत करको दायरा विस्तार, नयाँ राजस्वका प्रावधान तथा विभिन्न कर छुटका व्यवस्था गरेको जानकारी दिनुभयो।

उहाँले आन्तरिक राजस्व कार्यालय बागलुङले पनि विभिन्न शीर्षकमा राजस्व छुटको व्यवस्था गरेको बताउनुभयो।

विधेयकको दफा ४० मा आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था रहेको उल्लेख गर्दै सापकोटाले विगतमा स्थायी लेखा नम्बर (प्यान) नलिई करयोग्य आय आर्जन गरेका व्यक्तिले स्थायी लेखा नम्बर लिएर आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको आय विवरण २०८३ पुस मसान्तभित्र दाखिला गरेमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य मात्र नभई देश विकासको मेरुदण्डसमेत भएको बताउनुभयो।

उहाँले कर प्रशासनलाई प्रविधिमैत्री र करदातामैत्री बनाउँदै लगिएको उल्लेख गर्दै समयमै कर विवरण बुझाउन र कर तिरेर राज्य निर्माणमा योगदान पुर्‍याउन व्यवसायीलाई आग्रह गर्नुभयो।

अन्तरक्रियाका क्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यसहित सहभागी उद्योगी तथा व्यवसायीले कर दाखिला गर्दा भोग्नुपरेका व्यावहारिक कठिनाइ, मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरसम्बन्धी नीतिगत अस्पष्टता र कर छुटका प्रावधानबारे जिज्ञासा राखेका थिए।

उनीहरूले करको दायरा विस्तार, करसम्बन्धी योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल कर सेवाको प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि व्यापक प्रचारप्रसार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य सञ्जय श्रेष्ठको अध्यक्षता, द्वितीय उपाध्यक्ष केशव ओझाको स्वागत मन्तव्य तथा महासचिव इन्द्रमणि पौडेल अर्जुनको सञ्चालनमा सम्पन्न भएको थियो।

अन्तरक्रिया कार्यक्रमपछि बागलुङ बजारका विभिन्न पसलमा पुगेर व्यवसायीलाई कर प्रणालीबारे जानकारी गराउनुका साथै करदाता सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung