२ मंसिर २०८३, बुधबार

 

२५ वर्षपछि बागलुङको निरहेघाटमा पुनः लाग्दै ठूलो एकादशी मेला

बागलुङ । बागलुङ नगरपालिका–४ निरहेघाटमा २५ वर्षपछि परम्परागत हरिबोधनी एकादशी (ठूलो एकादशी) मेला पुनः सञ्चालन हुने भएको छ ।

परापूर्वकालदेखि निरन्तर लाग्दै आएको मेला पछिल्लो समय बन्दजस्तै अवस्थामा रहेकामा यस वर्षदेखि निरहेघाट मानव सेवा धामको अगुवाइमा पुनः सञ्चालन गर्न लागिएको हो ।

मंसिर ३ देखि ५ गतेसम्म विभिन्न धार्मिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित मेला आयोजना गर्न लागिएको हो । मेलाको मुख्य आकर्षणका रूपमा अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगितासमेत सञ्चालन हुनेछ । भोलि विहान ११ बजे भलिबल प्रतियोगिता सुरु हुँदै छ ।

मंसिर ३ गते बिहान ८ बजे मेलाको उद्घाटनसँगै भलिबल प्रतियोगिता सुरु हुनेछ । मंसिर ४ गते तोरण टाँग्ने, भजनकीर्तन, तुलसी विवाह तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ । मंसिर ५ गते भलिबल प्रतियोगिताको फाइनल, पुरस्कार वितरण र विविध सांस्कृतिक कार्यक्रमसहित मेला समापन गरिने आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ५० हजार रुपैयाँ, द्वितीय हुनेले एक लाख, तृतीय हुनेले ५० हजार र सान्त्वना हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक किशोर थापाले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगितामा सहभागी हुन टिम दर्ता निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

मेलामा धार्मिक प्रवचन, सन्ध्या आरती, स्थानीय लोक तथा भजन संस्कृतिको प्रदर्शनलगायत कार्यक्रम पनि समावेश गरिनेछ ।

धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, नयाँ पुस्तामा मौलिक संस्कृतिको हस्तान्तरण र युवाको सहभागिता बढाउने उद्देश्यले मेला पुनः सञ्चालन गर्न लागिएको मेला मूल संयोजक एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

मेलालाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विकास गर्दै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

ठूलो एकादशी मेलामा विगतमा भक्तजन जाग्राम बस्ने, भजनकीर्तन गर्ने तथा धार्मिक गतिविधिमा सहभागी हुने परम्परा थियो । तर, द्वन्द्वकालदेखि मेला सञ्चालन हुन छाडेको थियो । २५ वर्षपछि पुनः मेला सञ्चालन गर्न लागिएसँगै निरहेघाटको पुरानो धार्मिक तथा सांस्कृतिक परम्पराले निरन्तरता पाउने अपेक्षा गरिएको मेला मूल आयोजक समितिका सहसंयोजक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung