बागलुङ । नयाँ वर्ष न्हू दँ नेपाल संवत् ११४७ बागलुङमा भव्यताका साथ मनाइएको छ । न्हू दँ मूल आयोजक समिति बागलुङको आयोजनामा विविध कार्यक्रम गरी नयाँ वर्ष मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नेवार समुदायको भाषा, कला र संस्कृति राष्ट्रकै साझा सम्पत्ति भएको बताउनुभयो ।
शंखधर साख्वाले प्रचलनमा ल्याएको नेपालीहरूको मौलिक संवत् नेपाल संवत् अझै सबै नेपालीको साझा संवत्का रूपमा स्थापित हुन नसकेको भन्दै यसलाई राष्ट्रिय पहिचान र साझा संवत्का रूपमा स्थापित गर्न थप अभियान आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेवा भाषा, जात्रा, संगीत, गीत, कला, संस्कार, संस्कृति र सभ्यताको संरक्षण तथा संवर्द्धनका लागि नेवार समुदायका सबै सदस्यको आर्थिक, भौतिक सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेवार समुदायको एकताबाट मात्रै समुदायको विकास र मौलिक संस्कृतिको संरक्षण एवं प्रवर्द्धन सम्भव हुने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल भाषा मंकाः खल बागलुङका पूर्वअध्यक्ष काजी गाउँले श्रेष्ठले नेपाल संवत्को ऐतिहासिक पृष्ठभूमि र महत्वबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा समाजसेवी भीमसेन श्रेष्ठ, शंखधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष युक्तजंग राजभण्डारी, शाक्य कल्याण समाज बागलुङका अध्यक्ष बाबुलाल शाक्य, नेवा मिसा दबु बागलुङकी अध्यक्ष अर्चना पालिखे र नेपाल भाषा मंकाः खल बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा नेपाल भाषा मंकाः खल बागलुङले बागलुङ नगरपालिका–३ स्थित झि क्षे भवनको संरक्षण तथा पुनर्निर्माणमा सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गरेको थियो ।
कार्यक्रम न्हू दँ मूल आयोजक समितिका संयोजक जयराम भारीको अध्यक्षता, नेपाल भाषा मंकाः खल बागलुङका सहसचिव सञ्जय श्रेष्ठको धन्यवाद मन्तव्य र मूल आयोजक समितिका सचिव सुदीप राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































