४ मंसिर २०८३, शुक्रबार

 

सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त छु : देउवा

बागलुङ ।  नेपाली कांग्रेस बागलुङको नियमित १५औँ जिल्ला अधिवेशन बागलुङ बजारमा सुरु भएको छ । अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफ्नो बाँकी जीवन प्रजातन्त्र र देशका लागि समर्पित गर्न चाहेको बताउनुभयो ।

‘म एउटा साधारण परिवारमा जन्मिएर धेरै पटक प्रधानमन्त्री भइसकेको व्यक्ति हुँ । अब मेरो बाँकी जीवन प्रजातन्त्र र देशका लागि समर्पित गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।

देउवाले पञ्चायतकाल र शाही शासनका बेला आफूले धेरै दुःख भोग्नुपरेको स्मरण गर्दै अहिले पनि राजनीतिक संघर्ष जारी रहेको बताउनुभयो । नेपाली कांग्रेससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उहाँले अदालतबाट न्याय पाउनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो ।

‘मैले पञ्चायतकालमा र शाही शासनकालमा धेरै दुःख पाएँ । अहिले नेपाली कांग्रेसको मुद्दा सर्वोच्च अदालतमा छ । अदालतले मलाई न्याय दिन्छ भन्नेमा पूर्ण विश्वास छ,’ उहाँले भन्नुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचन, पूर्वसभापतिद्वय दीपेन्द्र थापा र मणिभद्र शर्मा कँडेल, केन्द्रीय सदस्यहरू किरण पौडेल र सीता देवकोटा, नेपाली कांग्रेस पर्वतका सभापति रामकृष्ण मल्ल तथा किसान महासंघका अध्यक्ष गणेश तिल्मिसिना र नेकपाका केन्द्रीय सदस्य तथा बागलुङका सहईन्चार्ज ज्ञामनाथ गैरै ‘अनिल’ले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस बागलुङका जिल्ला संयोजक सागर छन्त्यालको अध्यक्षता र महाधिवेशन प्रतिनिधि श्रीकृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung