बागलुङ । गण्डकी प्रदेश सरकारले बागलुङका १० वटै स्थानीय तहमा २४२ ग्रामीण सडक एकैसाथ स्तरोन्नति गर्ने भएको छ । राष्ट्रिय राजमार्ग तथा कालोपत्र सडकसँग ग्रामीण बस्तीलाई जोड्ने उद्देश्यले सडक स्तरोन्नतिको काम अघि बढाइएको हो ।
पूर्वाधार विकास कार्यालय बागलुङका अनुसार केही सडकको स्तरोन्नति सुरु भइसकेको छ भने केही आयोजना ठेक्का प्रक्रियामा छन् । सडक स्तरोन्नतिसँगै जिल्लामा १६ झोलुङ्गे पुल र १५ बेलिब्रिज निर्माणका आयोजना पनि अघि बढाइएको छ ।
कार्यालय प्रमुख अनुप थापाका अनुसार चालु आर्थिक वर्षमा जिल्लाभर एक अर्ब ४२ करोड रुपैयाँ बजेटका योजना कार्यान्वयनको चरणमा पुगेका छन् । ती योजनामा २४२ ग्रामीण सडक स्तरोन्नति, १६ झोलुङ्गे पुल र १५ बेलिब्रिज निर्माण समावेश छन् ।
“जिल्लाभर चालु आर्थिक वर्षमा २९२ योजना कार्यान्वयनमा गएका छन् । त्यसमध्ये २५ बहुवर्षीय आयोजना हुन् भने अन्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ”, थापाले भन्नुभयो, “बहुवर्षीय योजनासमेत पूर्णरूपमा कार्यान्वयन गर्न थप ४८ करोड रुपैयाँ बजेट आवश्यक पर्ने देखिएको छ ।”
अहिले सडक स्तरोन्नतिका लागि नापजाँच तथा पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने काम भइरहेको छ । अधिकांश साना तथा ग्रामीण सडकका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने केही सडकमा एक करोड रुपैयाँसम्म बजेट रहेको कार्यालयले जनाएको छ ।
ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने उद्देश्यले नाली, ग्याबिन जाली, कल्भर्ट निर्माण, खाल्डाखुल्डी मर्मत तथा भिरालो र जोखिमयुक्त क्षेत्रमा ढलान गरिनेछ । यसबाट वर्षायाममा सडक अवरुद्ध हुने समस्या कम हुनुका साथै ग्रामीण बस्तीको यातायात पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकामा एक करोड रुपैयाँ लागतमा मस्तिचौर–बोबाङ सडक र हुन्द्राफेदी–खुङ्गा सडक स्तरोन्नति गरिनेछ । यस्तै, ढोरपाटन नगरपालिका–१ र २ लाई जोड्ने गरी पाखुरीबासमा मोटरेबल पुल निर्माण गर्ने योजना रहेको छ ।



















































































































































































































