१२ मंसिर २०८३, शनिबार

 

धौलागिरि गण्डकी यातायातको अध्यक्षमा उमेश केसी, सञ्चालक समिति निर्विरोध

बागलुङ । धौलागिरि गण्डकी यातायात सेवा प्रालिको तेस्रो अधिवेशनले उमेश केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनबाट केसी पुनः अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्षमा केसी दोहोरिए पनि सञ्चालक समितिका अन्य पदमा नयाँ सदस्य चयन भएका छन् ।

नवनिर्वाचित सञ्चालक समितिमा उमाकान्त शर्मा ‘बाबु’, राजन जोशी, घनश्याम मल्ल, थमप्रकाश शर्मा ‘गणेश’, ओम गिरी, बाबुराम पौडेल, जयबहादुर श्रेष्ठ, चन्द्रबहादुर क्षेत्री, भूपेन्द्र शर्मा, बिना जिसी र रामकृष्ण थापा रहनुभएको छ ।

तत्कालीन धौलागिरि क्षेत्रलाई कार्यक्षेत्र बनाएर २०५४ सालमा धौलागिरि यातायात बस व्यवसायी समितिका रूपमा स्थापना भएको संस्था अहिले प्रालिमा रूपान्तरण भएको हो । प्रालिले बागलुङ, पर्वत र म्याग्दीबाट राजधानी काठमाडौंसहित पोखरा, चितवन, हेटौँडा, वीरगञ्ज, काँकडभिट्टा, नेपालगञ्ज र भैरहवाका लागि नियमित सवारी सञ्चालन गर्दै आएको छ ।

कार्यालय प्रमुख सुदीप राजभण्डारीका अनुसार प्रालिमा हाल तीन सय व्यवसायी आबद्ध छन् भने पाँच सय यात्रुवाहक सवारीसाधन सूचीकृत छन् ।

बस तथा माइक्रोबस सञ्चालनमार्फत लामो समयदेखि यात्रुलाई सेवा दिँदै आएको प्रालिले यात्रुको दुर्घटना बिमा र आरामदायी सवारीसाधन थप गर्ने कामलाई प्राथमिकता दिएको अध्यक्ष केसीले बताउनुभयो ।

करोडौँ रुपैयाँ लगानी गरेर बस सञ्चालन गरिरहेका व्यवसायीले राज्यबाट उचित सम्मान र सहयोग नपाएको गुनासो गरेका छन् । राज्यले तोकेको भाडादरमा सवारी सञ्चालन गर्नुपर्ने भए पनि कर छुट तथा व्यवस्थापकीय सहजीकरणमा राज्यको पर्याप्त सहयोग नपाएको उनीहरूको भनाइ छ ।

अधिवेशन उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णशंकर श्रेष्ठले संस्था आर्थिक रूपमा बलियो बन्दै गए पनि सामाजिक रूपमा अझै सुदृढ हुनुपर्ने बताउनुभयो । व्यवसायी र कर्मचारीमा संयम तथा सहयोगी भावना विकास गर्न सके संस्था थप बलियो बन्ने उहाँको भनाइ थियो ।

पछिल्लो समय सार्वजनिक यातायातमा यात्रुको सङ्ख्या घट्दै गएको र साझा यातायातलगायतका सेवामा यात्रुको आकर्षण बढेको उल्लेख गर्दै श्रेष्ठले आफ्नो क्षेत्रमा पनि यात्रुको आकर्षण बढाउन पहल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वअध्यक्ष कुमार खड्का, पूर्वकोषाध्यक्ष शिवप्रसाद सुवेदी, बागलुङ नगरपालिका–१ का अध्यक्ष जयबहादुर खत्री, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव नवराज परियार, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ र धौलागिरि जिप व्यवसायी समितिका अध्यक्ष दिनेश बोहरालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रालिका अध्यक्ष उमेश केसीको अध्यक्षता र प्रबन्ध सञ्चालक राजन जोशीको सञ्चालनमा सम्पन्न साधारणसभामा अध्यक्ष केसीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung