१२ मंसिर २०८३, शनिबार

 

वंशज नागरिकताको निरन्तरताको माग गर्दै बागलुङबाट ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अभियान सुरु

बागलुङ । वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता कायम गर्न माग गर्दै बागलुङबाट ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अभियान सुरु गरिएको छ ।

गैरआवासीय नेपालीहरू बाध्यताले अध्ययन, रोजगारी तथा अन्य अवसरका लागि विदेशमा बस्नुपरे पनि उनीहरूको वंशजका आधारमा प्राप्त नेपाली नागरिकता कायम रहनुपर्ने मागसहित अभियान सुरु गरिएको हो ।

बागलुङ कालिका मन्दिरबाट सुरु गरिएको अभियानले गैरआवासीय नेपाली नागरिकताको सट्टा वंशजको नागरिकताको निरन्तरता, मतदानको अधिकार र नागरिकतासम्बन्धी कानुनी व्यवस्था सुधारका लागि सरकारलाई दबाब दिने लक्ष्य राखेको छ ।

अभियानका अभियन्ता एवं बागलुङ बजार निवासी हाल अमेरिकामा बस्दै आउनुभएका उज्ज्वल खड्काले देशव्यापी अभियान सञ्चालन गरी संसदमा बहस सिर्जना गर्ने र आवश्यक कानुन निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

उहाँले अध्ययन र रोजगारीका लागि विदेश जानु बाध्यता भए पनि नेपाल फर्केर आउँदा आफ्नै देशको नागरिकका रूपमा बस्न पाउनुपर्ने बताउनुभयो । राज्यले दिने गैरआवासीय नेपाली नागरिकताले विभेद सिर्जना गरेको उल्लेख गर्दै वंशजका आधारमा प्राप्त नागरिकता कायम राख्न अभियान थालिएको उहाँको भनाइ छ ।

अभियान घोषणा गर्दै खड्काले विदेशमा रहेका नेपालीले पनि नेपालमा मतदानको अधिकार पाउनुपर्ने माग गर्नुभयो । अमेरिका लगायतका मुलुकले आफ्ना नागरिकको संरक्षणका लागि कानुनी व्यवस्था गरेको उदाहरण दिँदै नेपालले पनि विदेशमा रहेका नेपालीको नागरिकता र अधिकार सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

“हाम्रो ज्ञान, सीप र पुँजी नेपालमा परिचालन गर्न तयार छौँ । राज्यले हामीलाई गैरआवासीयको परिचय दिँदा मन दुख्छ । हामी नेपाल आमाका सन्तान हौँ । बाध्यताले अर्को देशमा गए पनि हाम्रो नेपाली नागरिकता कायम हुनुपर्दछ,” खड्काले भन्नुभयो ।

अभियानलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्का, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्कालगायतले समर्थन गरेका छन् ।

सांसद खड्काले नागरिकता ऐनमा भएका व्यवस्थाहरू सच्याउनुपर्ने बताउँदै रास्वपा नेतृत्वको सरकारले यस विषयलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । आफूले संसदमा समेत यस विषयमा आवाज उठाउने उद्देश्यले अभियानमा सहभागिता जनाएको उहाँले बताउनुभयो ।

बागलुङसहित धौलागिरि क्षेत्रबाट ठूलो सङ्ख्यामा नागरिक विदेशमा रहेकाले नागरिकताको निरन्तरतासम्बन्धी अभियान बागलुङबाट सुरु गरिएको अभियन्ताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung