बागलुङ । लायन्स क्लब अफ बागलुङ ताराखोलाले बाढी तथा आगलागीबाट प्रभावित परिवारलाई घरमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (MD 325), नेपाल LY 2026–2027 को आयोजना तथा लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (LCIF) को सहयोगमा राहत वितरण गरिएको हो ।
असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण मानवीय तथा भौतिक क्षति व्यहोरेका ताराखोला गाउँपालिकाका पाँच परिवार र गत कात्तिक २३ गते आगलागीबाट घर जलेको एक परिवार गरी छ परिवारलाई राहत प्रदान गरिएको क्लबका सचिव पूर्णभद्र निउरेले जानकारी दिनुभयो ।
राहत प्राप्त गर्नेमा ताराखोला गाउँपालिका–५ का स्वर्गीय पारस पुन र स्वर्गीय मनबहादुर रोकाको परिवार, वडा नम्बर १ मर्स्याङ्दीखोलाका इन्द्रध्वज भण्डारी र नन्दु श्रीसको परिवार तथा वडा नम्बर ३ का आगलागी पीडित थमबहादुर पुनको परिवार रहेका छन् ।
उनीहरूलाई खाद्यान्न, भाँडाकुँडा तथा लत्ताकपडा वितरण गरिएको छ । यस्तै, वडा नम्बर २ का गंगबहादुर विकलाई नगद ६ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको क्लबका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
राहत सामग्रीअन्तर्गत चामल, दाल, तेल, नुन, जिरा, डसना, ब्ल्याङ्केट, प्रेसर कुकर, बाल्टिन, मग लगायतका सामग्री प्रदान गरिएको क्लबले जनाएको छ ।




















































































































































































































