बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोजकुमार श्रेष्ठ र पूर्वअध्यक्ष तथा कोचिफ एडभाइजर तालबहादुर कुँवरले आफ्नो जन्मदिनको खर्च कटाएर मानवसेवा आश्रममा भोजन सेवा गरेका छन्।
आइतबार दुवै लायन्स लिडरले बागलुङ नगरपालिका–१, निरयघाटस्थित मानवसेवा आश्रममा आश्रित ४५ जनालाई भोजन गराएका हुन्।
जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यले भोजन सेवा गरिएको पूर्वअध्यक्ष तथा कोचिफ एडभाइजर कुँवरले बताउनुभयो। व्यक्तिगत खुसीलाई असहाय, बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको सेवासँग जोड्दै उनीहरूले मानवता र सेवाभावको सन्देश दिएका छन्।
लायन्स क्लब अफ धौलागिरि बागलुङले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। व्यक्तिगत उत्सवलाई सेवासँग जोड्ने यस्ता कार्यले सामाजिक सद्भाव र परोपकारी भावनालाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा क्लबका अध्यक्ष मनोजकुमार श्रेष्ठ, पूर्वअध्यक्ष तालबहादुर कुँवर र मानवसेवा आश्रम बागलुङकी जिल्ला संयोजक विपना तामाङले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालका चिफ एक्जुकेटिभ अफिसर काजीमान गुरुङ, पूर्वअध्यक्षहरू राजेशचन्द्र राजभण्डारी, राजकुमार श्रेष्ठ तथा क्लबका कोषाध्यक्ष रामनाथ शर्माको उपस्थिति रहेको थियो।
क्लबका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्वअध्यक्ष तथा जोन चेयरपर्सन गणेश महतोले गर्नुभएको थियो।
























































































































































































