बागलुङ । वैदेशिक रोजगारीमा हुने समस्या तथा ठगि रोक्न बागलुङका स्थानीय तहमा नीति बनाउने देखि परामर्श सेवा दिइएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बागलुङमा उच्च रहेको छ । उनिहरुलाई वैदेशिक रोजगारीको जानकारी, सिपमुलक तालिम प्रदान, वित्तिय साक्षरता, रोजगारीका क्रममा आएका समस्या समाधान लगायतको सेवा प्रदान गरिएको हो ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा बागलुङमा वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न सेवा तथा सिपमुलक कार्यक्रम र तालिम मार्फत १६ हजार ४३१ लाभान्वित भएका छन् ।जसमध्ये केही ८ हजार ७७० जनाले राहदानी समेत बनाइसकेका छन् ।
सामी कार्यक्रमले जिल्ला प्रशासन बागलुङ तथा इलाका प्रशासन कार्यालय बुर्तिबाङ, सामुदायिक सिकाइ केन्द्र र स्थानीय तहसँगको समन्वयमा सूचना तथा परामर्श, राहदानी वितरणसम्बन्धी सहजीकरण, रोजगारीमा आएको समस्याको पहिचान, समस्या समाधान, अभिमुखीकरण तथा न्यायमा पहुँचसम्बन्धी सेवा प्रदान गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजक मिन उपाध्ययाले जानकारी दिनुभयो ।
स्थानीय तहमा समेत रोजगारी सम्बन्धी नीति निर्माणमा समेत कार्यक्रमले सघाएको छ ।
“वैदेशिक रोजगारीमा जादा सिप तथा भाषगत ज्ञान लिएर जानुहोस, लेनदेन गर्दा प्रमाण राख्नुहोस, रोजगारीका क्रममा अफ्ठारो परेमा जानकारी गराउने सम्पर्क लगायतका विषयमा परामर्श दिइन्छ” उपाध्ययले भन्नुभयो “वैदेशिक रोजगारीमा गएर मृत्यु भएकाको शव ल्याउनेदेखि क्षतिपूर्ती भराउने सम्मको काम यही निकायबाट हुन्छ, रोजगारीबाट फर्केकालाई मनोपरामर्श तथा आम्दानीको बचत गर्न समेत सिकाइन्छ ।”
जिल्ला प्रशासन कार्यालय बागलुङबाट सूचना तथा परामर्श सेवा लिनेको संख्या छ हजार ३५६ रहेको छ । त्यस्तै इलाका प्रशासन कार्यालयबाट दुई हजार ६०१ जनाले वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श सेवा लिएका छन् ।
जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयबाट राहदानी लिन आएका मात्रै आठ हजार ८७० जनालाई वैदेशिक रोजगारीको विषयमा परामर्श र सल्लाह प्रदान गरिएको थियो ।
वैदेशिक रोजगारीमा गएका वा जाने तयारीमा रहेका व्यक्तिसँग सम्पर्क तथा सेवाको अवस्थाबारे जानकारी लिन फोन मार्फत समेत एक हजार ८०२ जनालाई परामर्श सेवा प्रदान गरिएको छ ।
यस्तै सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता परिचालन गरी दुई हजार ४०१ जनालाई सेवा प्रदान गरिएको छ । यसमध्ये एक हजार ३७ महिला र एक हजार ३६४ पुरुष रहेका छन् ।
वैदेशिक रोजगारीमा जान चाहने सम्भावित तीन हजार ११३ जना कामदारलाई अभिमुखीकरण, यस्तै न्यायमा पहुँचसम्बन्धी सहजीकरणतर्फ १०३ वटा निवेदन तथा उजुरी प्राप्त भएकामध्ये ५५ वटा निवेदना तथा उजुरीको समाधान भएको परामर्श दाता गंगा रिजालले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा गएका परिवारका २१० जनालाई वित्तिय साक्षरता प्रदान, रोजगारीले निम्ताएको समस्याले पीडित भएकालाई मनोसामाजिक परामर्शम गरिदै आइएको छ ।


















































































































































































































