बागलुङ । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको दोस्रो तलाको ढलान कार्य सम्पन्न भएको छ।
स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पना र नेतृत्वमा पञ्चकोटलाई विश्वस्तरको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले कलश निर्माणको काम अघि बढाइएको हो।
पञ्चकोट विकास परिषद्का अनुसार करिब १४५ फिट अग्लो र १३ तलाको कलश निर्माण गर्ने गुरुयोजना रहेको छ। यसको प्राविधिक लागत अनुमान ४५ करोड रुपैयाँ रहेको परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिनुभयो।


फाउन्डेसनसहित निर्माण गरिने कलशको काम गत आर्थिक वर्षदेखि बहुवर्षीय कार्यक्रमअन्तर्गत ६ करोड रुपैयाँको लागतमा अघि बढाइएको हो। हालसम्म १० करोड रुपैयाँभन्दा बढीको निर्माण कार्य सम्पन्न भइसकेको अध्यक्ष आचार्यले बताउनुभयो।
भक्तजनको आर्थिक सहयोग र नेपाल सरकारको सहयोगमा निर्माण भइरहेको कलशका लागि आवश्यक आर्थिक स्रोत जुट्न सके आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
जलसम्पदाको संरक्षण तथा संवर्द्धनको सन्देश प्रवाह गर्ने उद्देश्यसमेत रहेको यस कलशलाई नदी तथा जलका विभिन्न स्वरूपको प्रतीकका रूपमा विकास गरिने परिषद्का अध्यक्ष आचार्यले बताउनुभयो।


कलश निर्माण सम्पन्न भएपछि धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा पञ्चकोटको पहिचान थप स्थापित हुने अपेक्षा गरिएको छ।
विश्वशान्ति गण्डकी कलशको शिलान्यास २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख तथा विशिष्ट व्यक्तिहरूको सहभागितामा गरिएको थियो।
कलश निर्माणले पूर्णता पाएपछि पञ्चकोटको धार्मिक तथा पर्यटकीय महत्त्व बढ्नुका साथै स्थानीय क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।



















































































































































































