भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले व्यक्तिको सीप, ज्ञान र क्षमतालाई जनताको हितमा उपयोग गर्नुपर्ने बताउनुभएको छ। उहाँले राजनीति गर्ने व्यक्तिले अध्ययन, अनुसन्धान र अनुभवबाट खारिएर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको शनिबार समापन गर्दै बिजुक्छेँले पार्टीको सदस्य हुँदैमा मात्र राजनीतिक क्षमता पुष्टि नहुने बताउनुभयो। व्यक्तिको योग्यता, ज्ञान, अनुभव र काम गर्ने क्षमताका आधारमा मूल्याङ्कन हुनुपर्ने उहाँको भनाइ थियो।
राजनीतिकर्मीले समाजका समस्या बुझ्न र समाधान खोज्न आफैँ अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताउँदै उहाँले अरूको भनाइमा मात्र भर नपरी आफ्नै मेहनत र अनुभवबाट सिक्नुपर्ने धारणा राख्नुभयो।


साहित्य अध्ययनले विभिन्न देशका जनताको जीवनशैली, कला, संस्कृति, भूगोल र वातावरण बुझ्न सहयोग गर्ने उल्लेख गर्दै बिजुक्छेँले भाषा र साहित्यको निरन्तर अध्ययनमा जोड दिनुभयो। नेपालभाषा, नेपाली वा अंग्रेजी जुनसुकै भाषा बोले पनि शुद्ध र शिष्ट रूपमा बोल्न जान्नुपर्ने उहाँले बताउनुभयो।
प्रेमचन्द र लुशुनजस्ता साहित्यकारले राजनीतिक दलमा आबद्ध नभए पनि साहित्य सिर्जनामार्फत देश र जनताको पक्षमा योगदान दिएको उल्लेख गर्दै उहाँले प्रत्येक व्यक्तिको सीप र क्षमतालाई जनपक्षीय काममा लगाउनुपर्ने बताउनुभयो।
वैदेशिक रोजगारीको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै बिजुक्छेँले मानव संसाधन विदेश पठाउनु र भौतिक वस्तु निर्यात गर्नु फरक विषय भएको बताउनुभयो। विदेशमा रहेका छोराछोरी आमाबुबा गम्भीर बिरामी पर्दा वा मृत्यु हुँदा समेत स्वदेश फर्कन नसक्ने अवस्था गम्भीर रहेको उहाँको भनाइ थियो।


युवालाई विदेश पठाउने प्रवृत्तिले नेपाली अर्थतन्त्र र सामाजिक जीवनमा नकारात्मक असर पारेको उहाँले बताउनुभयो। उहाँले विद्यालय तहदेखि प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने, युवालाई खेलकुदमा सहभागी गराउनुपर्ने र ज्येष्ठ नागरिकले पनि आफ्नो क्षमताअनुसार सक्रिय जीवन बिताउनुपर्ने धारणा राख्नुभयो।
सहकारी ठगीका घटनाबारे चर्चा गर्दै बिजुक्छेँले जनतालाई वास्तविक सहकारी र ठगी गर्ने सहकारी छुट्याउन सक्षम बनाउन राजनीतिक कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँका अनुसार राजनीति भनेको देश र जनताको हितमा काम गर्नु तथा जनताका समस्याबारे छलफल र नेतृत्व गर्नु हो।
सुवालले उठाए राष्ट्रिय स्वाधीनताको विषय
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले देशको राजनीतिक दिशा र विगत ३५ वर्षका सरकारका गतिविधिबारे आलोचना गर्नुभयो। भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले सुरु गरिएको ‘एक घर एक स्नातक’ अभियानको चर्चा गर्दै उहाँले शिक्षाको विकासमा जोड दिनुभयो।
सुवालले संविधान संशोधन, भारतीय एकाधिकार पुँजी र एमसीसीबारे पार्टीको धारणा राख्दै राष्ट्रिय स्वाधीनता र देशहितलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
साहित्यिक पुरस्कार तथा सम्मान प्रदान
सम्मेलनमा किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कविता विधामा शकुन्तला महर्जन प्रथम, हरिसुन्दर पोतामहाँ द्वितीय, शिल्भिया प्रजापति तृतीय र ओमकृष्ण श्रेष्ठ चौथो हुनुभयो। कथा विधामा कमलकेशरी थुयाजू प्रथम, सूर्यनारायण फाँजू द्वितीय, श्रीया पहिजू तृतीय र एलके सुन्दर चौथो हुनुभयो।
सम्मेलनको पहिलो दिन तःमुंज्याको मुखपत्र ‘तःमुंज्या ख्वपौं’ विमोचन गरिएको थियो। हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक पनि सार्वजनिक गरिएको थियो। विभिन्न साहित्यकार तथा संस्कृतिकर्मीलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ।


नेपाल संवत् ११४६ को अवसरमा आयोजित सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्ध वाचनका साथै गीत, संगीत, नाटक, ख्याल, नृत्य र गीतिनाटक प्रस्तुत गरिएको थियो। नयाँ पुस्ताका सर्जकले प्रतियोगितात्मक रूपमा सिर्जना प्रस्तुत गरेका थिए।
‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा आयोजित सम्मेलनको उद्घाटन शुक्रबार सांस्कृतिक गुरु तथा ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गर्नुभएको थियो।
विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा सामाजिक चेतना अभिवृद्धिमा योगदान पुर्याउँदै आएको आयोजकले जनाएको छ।
सम्मेलनका अध्यक्ष उकेश कवांका अनुसार कार्यक्रममा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता थियो।





















































































































































































































