५ आश्विन २०८३, सोमबार

 

भलिबल संघ बागलुङमा नयाँ नेतृत्व, अध्यक्षमा भण्डारी

बागलुङ । जिल्ला भलिबल संघ बागलुङको पाँचौँ अधिवेशनले गोरखबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

बागलुङ बजारमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अर्जुन खड्का र होम थापा, महासचिवमा मनबहादुर पुन तथा कोषाध्यक्षमा दिलिप थापा सर्वसम्मत चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा योगेश भण्डारी, माया रोका, यमदिप पुन, सुरक्षा जिसी, यमकुमारी नेपाली र गोविन्दबहादुर थापा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ। अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो।

अधिवेशन उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्णप्रसाद कँडेलले भलिबल बागलुङमा लोकप्रिय खेलका रूपमा स्थापित हुनुका साथै स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म जिल्लाका खेलाडीले क्षमता प्रदर्शन गरिरहेको बताए।

उनले जिल्लामा भलिबल खेलको विकासका लागि संघ, खेलाडी, प्रशिक्षक तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए। विद्यालय तहदेखि नै भलिबल खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा प्रशिक्षण, नियमित प्रतियोगिता आयोजना र दक्ष प्रशिक्षक उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो।

जिल्ला खेलकुद विकास समिति खेल संघहरूसँग सहकार्य, समन्वय र साझेदारी गर्दै अघि बढ्न प्रतिबद्ध रहेको कँडेलले बताए। सीमित स्रोतसाधनका बाबजुद खेल क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश सरकार, खेल संघ, विद्यालय, क्लब तथा खेलप्रेमीबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले उल्लेख गरे।

अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बागलुङ भलिबल खेलाडी उत्पादनको उर्वर भूमि रहेको बताए। बागलुङका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सफल भएको उनको भनाइ थियो।

सरकारबाट पर्याप्त सहयोग प्राप्त हुन नसके पनि देशको पहिचानका लागि नेपाल भलिबल संघले आफ्नै स्रोतबाट समेत खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको गुरुङले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले पनि मन्तव्य व्यक्त गरेका थिए।

जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगेशबहादुर भण्डारीको अध्यक्षता, उपाध्यक्ष किशोर थापाको स्वागत तथा महासचिव मनबहादुर पुनको सञ्चालनमा अधिवेशन सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung