बागलुङ । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ, बागलुङको समूह उपविजेता बनेको छ ।
शनिबार पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय खेल मैदानमा आयोजित फाइनल खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीसँग २–० गोलले पराजित हुँदै पत्रकार महासङ्घ, बागलुङले उपविजेतामा चित्त बुझाएको हो ।
विजेता खेलकुद पत्रकार मञ्चले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पत्रकार महासंघ, बागलुङले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
बागलुङका रोहन जिसी सर्वोत्कृष्ट खेलाडी घोषित भई पुरस्कार र ट्रफी हात पारे । सर्वोत्कृष्ट प्रशिक्षक गण्डकीका धनबहादुर गुरुङ (सुमन) घोषित भए ।
प्रतियोगिताका विजेता खेलाडीलाई गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले पुरस्कार प्रदान गर्दै मिडियाकर्मीले खेलमार्फत स्वास्थ्य र भाइचाराको सन्देश दिन खोजेको भन्दै प्रशंसा गरे ।
समापनको अवसरमा बोल्दै डा। अधिकारीले गण्डकी विश्वविद्यालयले पनि खेल व्यवस्थापनको अध्यापन गराइरहेको जनाउँदै आगामी शैक्षिक सत्रदेखि फुटसललाई पनि पाठ्यक्रममा समेट्ने योजना रहेको सुनाए ।
प्रतियोगिता उद्घाटनको अवसरमा नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा, गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा। रविन्द्रप्रसाद श्रेष्ठलगायतले मन्तव्य राख्दै आयोजकलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगितालाई सफल पार्न पत्रकार र पत्रकार आबद्ध संस्थाहरुको सहयोगप्रति धन्यवाद दिँदै आउँदो वर्ष प्रतियोगिताको दायरालाई अझ फराकिलो बनाउने उल्लेख गरे ।
‘प्रतियोगिताको उद्देश्य खेल्नुमात्र नभएर संस्थालाई मानवीय सेवामा जोड्नु पनि रहेको छ’ अध्यक्ष श्रेष्ठले भने ‘यहाँबाट आर्जित मुनाफा भोटेकोशी बाढीबाट प्रभावितको हितमा खर्च गरिनेछ ।’
















































































































































































