५ आश्विन २०८३, सोमबार

 

इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको उपाधि प्रिसियस र विद्यामन्दिरलाई

बागलुङ । कबड्डी नेपाल र जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा विद्यामन्दिर माध्यमिक विद्यालयमा सम्पन्न इन्टर स्कुल कबड्डी च्याम्पियनसिप–२०८३ को छात्रातर्फको उपाधि प्रिसियस एकेडेमी र छात्रतर्फको उपाधि विद्यामन्दिर माध्यमिक विद्यालयले जितेका छन्।

आइतबार सम्पन्न प्रतियोगिताको छात्रातर्फ विद्यामन्दिर माध्यमिक विद्यालय उपविजेता बनेको छ भने प्रिसियस एकेडेमी ‘ए’ र कन्यामन्दिर माध्यमिक विद्यालय तेस्रो भएका छन्। छात्रतर्फ न्यु एभरेस्ट एकेडेमी उपविजेता बनेको छ।

प्रतियोगिताका विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिएको थियो। बेस्ट डिफेन्डर र बेस्ट रेडरलाई ट्रफी प्रदान गरिएको थियो।

विजयी तथा उत्कृष्ट खेलाडीलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेल, जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दीप पन्त र विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

जिल्ला कबड्डी संघ बागलुङले जिल्लामा कबड्डी खेलको संरक्षण, विकास र नयाँ खेलाडी उत्पादनका लागि नियमित रूपमा प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको छ। संघले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्दै कबड्डी खेलको विकास र विस्तारमा जोड दिँदै आएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung